अघि बढ्यो उत्तर–दक्षिणअन्तर्गतको कोशी करिडोरको निर्माण, ट्र्याक खोल्ने जिम्मा सेनालाई

अघि बढ्यो उत्तर–दक्षिणअन्तर्गतको कोशी करिडोरको निर्माण, ट्र्याक खोल्ने जिम्मा सेनालाई

काठमाडौं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ ।

सो करिडोरअन्तर्गतको१४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथाङ्का सडक योजनाले बताएको छ ।

अर्थ मन्त्रालयले कालोपत्रका लागि २ अर्ब ६० करोड रुपियाँ स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “आगामी साता सूचना निकाल्नका लागि आयोजना निर्देशनालयले स्वीकृति दिइसकेको छ ।”

सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्याक खुल्न बाँकी हो । खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथाङ्काबाट धोङगपासम्म १४ किमी ट्याक उत्तरबाट दक्षिण खुलेको छ । बीचको खण्ड बाँकी मात्रै बाँकी भएको योजनाले बताएको छ ।

जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ ट्याक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपाली सेना साइटमा जाने तयारी गर्दैछ । निर्माणाधीन सो राजमार्गमा विभिन्न स्थानमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भएको छ। राजमार्ग निर्माणका क्रमम भौगोलिक कठिनाइसँगै गत वर्ष कोभिडका कारण काममा बाधा पुगेको प्रमुख श्रेष्ठले बताए।

निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या रहेको छ । राजमार्गको उत्तरतर्फ कतिपय स्थानमा १२ महीनामा जम्मा चार महीना मात्रै काम गर्न सकिनेछ । हिमाली क्षेत्रमा चैत वैशाखदेखि पानी पर्ने र भदौ असोजदेखि चाडपर्व र त्यसपछि चिसोका कारण काम गर्न कठिन रहेको प्रमुख श्रेष्ठले बताए ।

सरकारले अहिलेसम्म उत्तर दक्षिण करिडोरअन्तर्गतका राजमार्ग सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन । उत्तर दक्षिण आयोजना निर्देशनालयले ट्याक खोलिसक्ने कामलाई नै प्राथमिकता दिएको छ । सेनाले नियमित काम गर्दा अबको झण्डै डेढदेखि दुई वर्षमा काम गर्नसक्ने बताउँदै आएको छ ।

सो राजमार्गको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट अघि बढ्ने हुनाले वातावरणमा ध्यान पुर्‍याएर मात्रै काम गर्नुपर्ने प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११२ किमी सडक मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा त्यसमा काम शुरु गर्न गाह्रो थियो । गत वर्षसम्म पनि वातावरण प्रभाव मूल्याङ्कन नभएकाले काम गर्ने वातावरण बनेको थिएन । सडक निर्माण अघि बढान खोज्दा निकुञ्जबाट अवरोध आएको थियो ।

सो करिडोरमा सडकको अधिकार क्षेत्रको ठूलो समस्या नभएको बताइएको छ । अरुण तेस्रो परियोजनाले सङ्खुवासभा जिल्लाको फाक्सीन्दादेखि अरुण तेस्रो परियोजनासम्म ३० मिटरमा मुआब्जा दिइसकेको छ ।

राजमार्ग निर्माणाधीन भए पनि ट्याक खुलेको स्थानमा सवारीसाधन चल्न थालेको योजनाले बताएको छ । खाँदबारीबाट ८० किमी परसम्म सवारीसाधन चल्छ भने त्यसअघि ट्र्याक्टरले सामान मात्रै बोक्ने भोटखोला गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए ।

यो गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । देशभरका अन्य सडकजस्तै यो सडक निर्माण गर्दा कोभिडको अझै पनि असर गरेको थियो । गत वर्ष कोभिडकै कारण स्थानीयवासी पालिकाले नयाँ मान्छे छिर्न नदिएकामा अहिले हट्दै गएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

राजमार्गमा २२ ओटा पुल आवश्यक भएकामा अहिलेसम्म एउटा पुल सम्पन्न भएर सञ्चालनमा आएको र धेरै निर्माणाधीन रहेको योजनाले बताएको छ । ट्र्याक खुल्न बाँकी स्थानमा खुलाउनेसँगै खुलिसकेकामा सडक स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ । कतिपय खण्डमा कालोपत्र प्रक्रिया अघि बढाएको छ भने कतिपय खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ ।

दक्षिणमा मोरङको जोगवनीदेखि उत्तरमा सङ्खुवासभाको किमाथाङ्कासम्म रहेको छ । यसले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमालाई जोड्छ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ । रासस

यो समाचार अभियान डेली डट कमबाट साभार गरिएको हो । यो खबर अभियान डेली डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.abhiyandaily.com/newscategory-detail/379797

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *