अत्याधिक चिसो बढेसँगै विकासको काम ठप्प

अत्याधिक चिसो बढेसँगै विकासको काम ठप्प

जोमसोम : हिमालपारिको जिल्ला मुस्ताङमा हिउँदयामको अत्यधिक चिसो बढेसँगै विकास निर्माण लगायतको काम ठप्पै भएको छ। राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गतको मुस्ताङ खण्डको ९ प्याकेजसहित संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन भइरहेको सयौं पूर्वाधार विकासको काम ठप्पै भएको हो।

राष्ट्रिय गौरवको बेनी जोमसोम—कोरला सडक आयोजनाले मुस्ताङखण्डमा पर्ने सडक तथा पुल निर्माणको काम चिसोले प्रभावित बनेको आयोजनाका ईन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए। आयोजनाले अत्यधिक चिसोले जनशक्ती फिल्डमा काम गर्न नसक्ने, क्रंकिट सेट नहुने र उपकरणसमेत चिसोले स्टार्ट हुन कठिन पर्ने हुँदा सडक तथा पुलको काम रोक्नु परेको उनले बताए।

राष्ट्रिय गौरवको जोमसोम/कोरला खण्डको केही प्याकेजमा उपकरणले पौषको पहिलो सातासम्म काम गरेको भएपनि चिसो ह्वात्तै बढेकाले काम गर्न नसक्ने अवस्था रहेको र रोकिएको कामलाई बैशाखमा पुनः निरन्तरता दिईने ईन्जिनीयर यादवले जानकारी दिए।

२०७४ सालबाट सुरु भएको राष्ट्रिय गौरवको कोरला सडक अन्तरगत जोमसोम कोरला सडकको काम हालसम्म ८५ प्रतिशत र बेनी—जोमसोम सडकको काम ५५ प्रतिशत संम्पन्न भएको छ। आयोजना अन्तरगत मालढुङ्गा/बेनी सडक स्तरोन्नति कार्यका लागि ठेक्का प्रक्रिया अघि बढेको छ भने जोमसोम—कागबेनी कालोपत्रेका लागि आयोजनाले बजेट समेत माग गरिसकेको जनाइएको छ।

गण्डकी प्रदेशको पूर्वाधार विकास आयोजनामध्ये ४ वटा पूर्वाधार विकास योजना सम्पन्न भएपनि बाँकी कुल २७ वटा आयोजना चिसोले प्रभावित भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सवईन्जिनीयर सुन्दर पोख्रेलले जानकारी दिए। पूर्वाधार विकास कार्यालयका अनुसार प्रदेश अन्तरगतका सडक र झोलुङ्गे पुलतर्फ कुल २३ वटा योजना र सहरी विकास तथा भवन निर्माण अन्तरगतका ४ वटा चिसोले प्रभावित भएको हो।

यस्तै, संघीय आयोजनाबाट कार्यालयलाई हस्तान्तरण भएको घरपझोङ गाउँपालिकाको ठिनी/नमखुलेक जोड्ने सडक र लाघेकर दामोदरकुण्डको दामोदरकुण्ड जोड्ने सडकको प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन प्रक्रिया अघि बढेको सवईन्जिनीयर पोख्रेलले खुलाए। प्रदेश अन्तरगत लेते, घासा देउराली जोड्ने झुलुङ्गे पुल र कालिगण्डकी नदी सडक पुल अन्तरगत चिवाङ/चोखोपानी सडकको डीपीआर गर्ने चरणमा छ। यस्तै ,पूर्वाधार विकास कार्यालयले ४ वटा सडक, १ प्रादेशिक भवन निर्माणको ठेक्का लगाएको छ।

प्रदेश सरकार अन्तरगतको घरपझोङ रिङरोड,लोमान्थाङ रिङरोड,मार्फा/छैरो/चिवाङ जोड्ने सडक पुल,लेते धम्पु जोड्ने सडक पुल र संघीय हस्तान्तरणको एक्लेभट्टी पाक्लिङ जाड्ने सडक पुल आदि अघिल्लो वर्षको दायित्व सृजना भई आएको विकास योजना चिसोले प्रभावित भएको हो।

यस्तै, अत्यधिक चिसो बढेसँगै मुस्ताङका ५ स्थानीय तहमा संञ्चालित विकास योजना प्रभावित भएको सम्बन्धित तहहरुले जनाएका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले संघतर्फको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगतको ७ वटा, संघीय अन्तरगत राष्ट्रिय योजना आयोगको २ वटा, प्रदेशतर्फ स्थानीय तहमा आएको ४ वटा र गाउँपालिकाको करिव ७० वटा योजना चिसोले प्रभावित बनेको घरपझोङका ईन्जिनीयर सकलदेव शर्माले जानकारी दिए।

ईन्जिनीयर शर्माका अनुसार संघीयतर्फ स्वास्थ्य मन्त्रालयबाट प्राप्त आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि २ वडामा ३६ लाख बजेट छ। घरपझोङमा योजना आयोगबाट प्राप्त जोमसोम/यारुझो भ्यु टावर रेलिङसहितको फुटट्रेल र सशस्त्र क्याम्पदेखि जोमसोम पक्की पुलको दायाँबायाँ बृहत तटबन्ध निर्माण, र संघीय सरकारको गाउँपालिका भवन निर्माण, तेज निरला क्याम्पस भवनको निर्माणको काम चिसोले प्रभावित भएको ईन्जिनीयर शर्माले बताए। उल्लेखित पूर्वाधार विकास बजेटको लागत १ करोडदेखि ८ करोड सम्मका छन्।

यस्तै, लोमान्थाङ गाउँपालिकामा संघीयतर्फ एउटा,प्रदेशतर्फ ३ वटा, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ४ वटा र स्थानीय तहको ३० योजना गरी कुल ३८ योजना चिसोले प्रभावित भएको छ। वारागुङ मुक्तिक्षेत्र, थासाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तरगत संघीय तथा प्रदेश र स्थानीय तहका विकास योजनाको काम चिसोले ठप्पै भएको हो।

यो समाच अन्नपूर्ण पोस्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपूर्ण पोस्ट डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

http://annapurnapost.com/news/atyaadhik-ciso-bddhesngai-vikaasko-kaam-tthpp-172728

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *