अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव

अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव

सिन्धुपाल्चोक । भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन (१ अर्ब ४४ करोड २० लाख रुपैयाँ) लगाएर राजमार्ग पुनर्निर्माण गरिदिने प्रस्ताव चीन सरकारले राखेको हो ।

२०७२ सालको भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग पुनर्निर्माणका लागि चिनियाँ दूतावासमार्फत प्रस्ताव प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जानकारी दिएको छ ।

चीन सरकारले पुनर्निर्माणको प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले बताएको छ ।

सडक विभागका अनुसार चीन सरकारले पाँचखालदेखि कोदारीसम्मको खण्ड पुनर्निर्माण गरिदिने प्रस्ताव राखेको छ । प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन र भूकम्प, वर्षाले क्षति पुगेको स्थानमा पुनर्निर्माण गर्ने काम हुनेछ । ६० भन्दा बढी स्थानमा सडक क्षतिग्रस्त छ ।

अहिले अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबीसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, डाकलांक, माथिल्लो भोटेकोशी ड्याम क्षेत्र, घट्टे खोलालगायत १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्गमा यातायात सञ्चालन गर्न अप्ठ्यारो छ । यी ठाउँमा दुवैतर्फ गाडीहरू आवातजावत गर्न मिल्दैन ।

वर्षामा राजमार्ग अवरुद्ध हुँदा लामो समयसम्म सडक एकतर्फी सञ्चालनमा छ । अझै केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको सडक विभागका उपमहानिर्देशक शिवहरि शर्माले बताए ।

चिनियाँ राष्ट्रपति सी चिङपिङको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गरेको थियो ।

भ्रमणपछि जारीे संयुक्त वक्तव्यमा दुवै पक्षबीच अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सुधार गर्दै लैजान सहमति पनि भएको उल्लेख थियो । प्राथमिकताका आधारमा सडक पुनर्निर्माण र स्तरोन्नति गर्ने संयुक्त वक्तव्यमा उल्लेख छ । सन् १९६० मा याक हिँड्ने बाटोलाई चीनको सहयोगमा सडक बनाइएको थियो । अरनिको सडक नेपाल–चीन जोड्ने पहिलो राजमार्ग हो ।

१ सय १२ दशमलव ८३ किलोमीटर कुल लम्बाइको यो राजमार्गको धुलिखेलदेखि कोदारीसम्मको दूरी ८२ दशमलव ८३ किलोमीटर रहेको छ ।

वर्ष दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइसकेका कारण धुलिखेलदेखि कोदारी राजमार्गसम्मको सडक डबल लेनमा स्तरोन्नति गर्ने प्रस्ताव चिनियाँ पक्षसँग राखेको थियो ।

भोटेकोशी गाउँपालिका–४ का आङछिरिङ शेर्पाले तत्काल राजमार्ग पुनर्निर्माणमा पहल गर्नुपर्नेमा जोड दिँदै भने, ‘सधैं बन्ने क्रममा छ । तयारीमा छौं भन्ने कुराले अर्थ राख्दैन । हामी तत्काल राजमार्ग पुनर्निर्माण होस् भन्ने चाहन्छौं ।’

तातोपानी नाका रणनीतिक महत्त्वको भएकाले तत्काल सडक पुनर्निर्माण गर्नेतर्फ नेपाल सरकार लाग्नुपर्ने उनको भनाइ छ ।

यो समाचार अभियान डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर अभियान डेल्लीमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.abhiyandaily.com/newscategory-detail/378577

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *