आर्थिक वर्ष सकिन २ महिना बाँकी, ३४ प्रतिशतमात्र विकास खर्च

काठमाडौं । कमजोर विकास खर्चको सिलसिला चालु आर्थिक वर्ष २०८१/८२ मा समेत दोहोरिएको छ ।
चालु आव १० महिना (साउन–वैशाख) सम्म सरकारले लक्ष्यको ३४.१६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । अब आव सकिन २ महिनामात्र बाँकी छ ।
यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर पूँजीगत बजेट विनियोजन गरेको छ । जसमध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब रुपैयाँ खर्च गर्न सकेको छ ।
सरकारले गत आव यसै अवधिमा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । सरकारले जेठ र असार लागेसँगै विकासका गतिविधि र खर्चको गति बढाउँछ । जुन असारे विकासका नाममा बदनाम छ ।
आवको बाँकी दुई महिनामा लक्ष्य अनुसार विकास बजेट खर्च गर्ने हो भने अब २ खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ । जुन मासिक १ खर्ब १५ अर्ब ९८ करोड ८८ लाख र दैनिक ३ अर्ब ८६ करोडका दरले खर्च गर्नुपर्छ । अहिले दैनिक ४० करोडका दरले मात्र विकास खर्च भएको तथ्यांक छ । उता, चालु खर्च भने लक्ष्यको ६७.७९ प्रतिशत पुगिसकेको छ । यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु बजेट विनियोजन भएको छ । १० महिनासम्म ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ चालु बजेट खर्च भइसकेको छ । जुन लक्ष्यको ६७.७९ प्रतिशत हो ।
चालु, पूँजीगत र वित्तीय व्यवस्थासहित कुल बजेट खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख पुगेको छ । जुन यस वर्ष विनियोजनको तुलनामा ६२.२४ प्रतिशतमात्र हो ।
यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थातर्फ १० महिनामा २ खर्ब ६४ अर्ब २८ करोड खर्च भइसकेको छ । जुन लक्ष्यको ७१.९६ प्रतिशत हो ।
यस वर्ष पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थामा बढी बजेट विनियोजन भएको छ । जुन ऋणको साँवा–ब्याज भुक्तानी तथा सेयर लगानीमा खर्च हुन्छ ।