एकादेशको कथा बनेको खानेपानी आयोजना
करिब तीन लाख जनसंख्या भएको बुटवलका लागि खानेपानी समस्या नयाँ होइन।
सरकारले ‘एक घर एक धारा’ भन्ने नारा ल्याएको पनि वर्षौं भयो तर बुटवलका बासिन्दाका घरमा धारा त छ पानी आउँदैन।
खानेपानी संस्थानका अनुसार अहिले बुटवलमा दैनिक झण्डै साढे चार करोड लिटर खानेपानीको माग छ। तर साढे दुई करोड लिटर मात्रै वितरण हुन्छ।
बुटवलमा सफा र स्वच्छ खानेपानी आपूर्ति गर्न पछिल्ला दुई/तीन दशक यता धेरै प्रयासहरू भए। अहिले सम्म कुनै पनि प्रयास सफल भएका छैनन्।
सबैभन्दा चर्चामा रहेको झुम्सा खानेपानी आयोजना अहिलेसम्म सफल नभएकोमध्ये एउटा हो। उक्त आयोजना २०५२ सालदेखि सुरू गरिएको थियो।
रामफेदीदेखि साढे १३ किलोमिटर टाढा पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्साबाट पानी ल्याएर बुटवलबासीलाई खुवाउने योजना उक्त आयोजनाको थियो। सुरूमै पाइप खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि आयोजना लामो समय पछि धकेलियो।
पाँच वर्षमा निर्माण सक्ने भनिएको आयोजनामा अहिलेसम्म करोडौं रूपैयाँ खर्च भइसकेको छ। खानेपानी संस्थानले २०७२ सालमा झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको बताएको थियो। त्यतिबेला पाइपलाइन बिस्तार, इन्टेक (खोलाबाट पानी संकलन गर्ने पोखरी) निर्माणका काम भइरहेका थिए।
तर २०७३ साउनमा तिनाउमा आएको बाढीले इन्टेक बगाइदियो। बाढीले बगाएको इन्टेकसँगै झुम्साको खानेपानी पाउने आशामा रहेका बुटवलवासीको सपना पनि बगाइदियो।
इन्टेक बगाएपछि अनुगमन गरेको प्राविधिक टोलीले त्यसको डिजाइन र प्रयोग गरिएका कमसल सामग्रीका कारण बाढीले बगाएको निष्कर्ष निकालेको थियो। जसअनुसार आयोजनाको मुख्य बाँधमा निर्माण गरिएको इन्टेकमा सामान्य घरमा प्रयोग गरिने १२ एमएम र १६ एमएमका फलामे डण्डी प्रयोग गरिएका थिए। भने इन्टेकको संरचनामा ८ इन्च ग्याप राखेर डण्डीको जाली बनाइएको थियो।
बुटवलको खानेपानी समस्याको दीर्घकालीन समाधानका रूपमा लिइएको उक्त आयोजनाको इन्टेक बाढीले बगाएपछि झुम्साको खानेपानी आयोजना चार वर्ष फेरि पछि पर्यो।
२०७७ सालमा खानेपानी संस्थानले पाल्पाको तिनाउ गाउँपालिकाको फिरफिरे घाटमा व्यवस्थित र आधुनिक बाँध बनाएर काम सुरू गर्यो। बाँध बनाउने काम सँगै २०७३ साल अघि बिछ्याइएको १० इन्चको पाइपलाइनलाई हटाएर २० इन्चका पाइप थपिएका छन्। तर बुटवलका घरघरमा आधा इन्चको पाइपमा पानी पर्खेर बसेका उपभोक्ताको धारामा पानीको थोपा चुहिन सकेको छैन।
आयोजना शिलान्यास गर्दा १३ किलोमिटर पाइपलाइन बिस्तारसमेत गरी २ वर्षभित्र अर्थात २०७९ जेठसम्म निर्माण पूरा गर्ने संस्थानले बताएको थियो। त्यसपछि पनि साढे दुईवर्ष बितिसके तर संस्थानले विभिन्न बहाना देखाउँदै आयोजना निर्माणको काममा ढिलाइ गरेको छ।
गतवर्ष फेरि भत्किएको क्रसिङ ट्रस ब्रिज संस्थानलाई ढिलाइको बहाना बनेको छ।
खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट गतवर्ष नै बुटवलमा खानेपानी ल्याउने योजनासहित काम भइरहेकोमा मुहान नजिकैको क्रसिङ ट्रस ब्रिज भत्किएपछि ढिलाइ भएको दाबी गर्छन्।
‘२०८० साल फागुन ७ गते बुटवलमा खानेपानी झार्ने गरी काम भइरहेको थियो त्यहीबीच पाइप क्रसिङ गर्ने ट्रस ब्रिज भत्किएपछि ढिलाइ भयो,’ उनले भने।
भत्किएकोसँगै अन्य दुईवटा क्रसिङ ब्रिज निर्माणबाहेक मुहानबाट रामफेदीसम्म पानी ल्याउनका लागि पाइपलाइन विस्तारको ९५ प्रतिशत काम पूरा भइसकेको उनको भनाइ छ। चालु वर्षभित्रै बुटवलमा पानी ल्याइने उनले दाबी गरे।
‘साढे १३ किलोमिटर पाइपलाइन बिस्तारको काममा तीनवटा क्रसिङ ब्रिजबाहेक अरू सबै ठाउँमा काम सम्पन्न भइसकेको छ। आउने माघ मसान्तसम्म निर्माणको सम्झौता अवधि छँदैछ। यो वर्ष बुटवलमा पानी ल्याउने काम पुरा हुन्छ,’ भट्टले भने।
अहिले कन्काइ एण्ड कालिका जेभी कोटेश्वर काठमाण्डौंले झुम्सा खोलाको फिरफिरे घाटमा बाँध निर्माण गरी पानी उत्पादन गर्ने, क्रसिङ ट्रस ब्रिज निर्माण र पाइपलाइन विस्तारको काम गरिरहेको छ।
पहिलो चरणमा ७३ करोड रूपैयाँमा मुहानको बाँध निर्माण र पाइपलाइन विस्तार गरी रामफेदीसम्म पानी ल्याउने काम भइरहेको छ। ७३ करोड प्याकेज अन्तर्गत हालसम्म ५५ करोड बढी खर्च भइसकेको भट्टले बताए।
यो आयोजनाको कुल लागत ६ अर्ब ३५ करोड हो।
आयोजना अन्तर्गतको अन्य रकम पानी प्रशोधन प्रणाली, भण्डारण ट्यांकी, वितरण प्रणाली लगायतका विभिन्न संरचना निर्माणमा खर्च हुने भट्टले बताए। झुम्साबाट रामफेदीमा पानी खसेपछि वितरणका लागि यही आयोजना अन्तर्गत बुटवलका विभिन्न स्थानमा १० वटा ट्यांकी निर्माण हुने छन्।
‘बुटवलमा पानी ल्याएपछि पहिलो चरणमा पाँचवटा कोर एरियामा ट्यांकी निर्माण गरेर वितरण गरिने छ, हिलपार्क, वडा नं. ३, वडा नं. १०, वडा नं. १२ र सैनिक क्याम्प क्षेत्रमा पहिलो चरणमा ट्यांकी निर्माण हुने छन्। बाँकी पाँच वटा स्थानमा दोस्रो चरणमा ट्यांकी निर्माण गरिने छ,’ उनले भने।
खानेपानी संस्थानले अहिले तिनाउ खोलाबाट सिधै पम्प गरी रामफेदीमा पानी संकलन गरी उपभोक्ताको घरघरमा वितरण गर्दै आएको छ। झुम्साको पानी आएपछि तिनाउ खोलाबाट पानी तान्न रोकेर अहिलेकै सिस्टमअनुसार खानेपानी वितरण हुने उनले बताए।
अहिले तिनाउ नदी र भूमिगत स्रोतबाट आपूर्ति भइरहेको पानीमा झुम्साबाट तीन करोड २० लाख लिटर थप गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने खानेपानी संस्थानको लक्ष्य छ।
झुम्सा खानेपानी आयोजना पूरा भएपछि बुटवललाई ५० वर्षसम्म खानेपानीको समस्या नहुने दाबी गरिएपनि बुटवलवासी आयोजनाका नाममा करोडौं रकम खर्च भएको समाचार पढेर चित्त बुझाउन बाध्य छन्।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्सा खानेपानी आयोजना सम्पन्न गर्न उपमहानगरपालिकाबाट सक्दो पहल भइरहेको बताउँछन्।
‘बुटवलमा खानेपानी झरेपछि तीनपटक सम्म हरेक वर्ष मुहान क्षेत्रको विकासका लागि २ करोड र मुहान संरक्षणका लागि हरेक वर्ष १५ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेका छौं,’ पाण्डेयले भने।
खानेपानी संस्थान र उपभोक्ता समितिले वितरण गरिरहेको आधारमा अहिले बुटवलमा दैनिक १ करोड लिटर खानेपानी अभाव छ।
अहिले खानेपानी संस्थानले तिनाउ नदी र केही भूमिगत स्रोतबाट खानेपानी वितरण गर्छ भने विभिन्न उपभोक्ता समितिहरूले ट्युबवेल (बोरिङ) जस्ता भुमिगत स्रोतबाट करिब १ करोड लिटर खानेपानी आपूर्ति गरिरहेका छन्।
खानेपानी संस्थानका अनुसार तीव्र सहरीकरणसँगै जनसंख्या बढ्दै जाँदा बुटवलमा बर्सेनि १५ लाख लिटरभन्दा बढी खानेपानीको माग थपिँदै जान्छ। बर्सेनि ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने उपमहानगरपालिकाको तथ्यांक छ। वर्षामा धमिलो लेदो पानी आउने बुटवलमा सुक्खायाममा त मागको आधामात्रै खानेपानी आपूर्ति भइरहेको छ।
बुटवलको खानेपानी अभाव टार्न कहिले भूमिगत त कहिले खोलाको मुहानबाट ल्याउने गरी आयोजना बनाउने काम नभएको होइन। कुनै आयोजना राजनीतिक खिचातानीले अलपत्र परे भने कुनै आयोजना खानेपानी संस्थानको बेवास्ताले टुंगोमा पुग्न सकेका छैनन्।
बीचमा एसियाली बिकास बैंक (एडिबी) को २२ करोड ऋण अनुदानमा शिवनगरमा सञ्चालन गर्ने भनिएको खानेपानी आयोजना पनि एडिबीले हात झिकेपछि सुरू नहुँदै सँधैँको लागि बन्द भयो।
बुटवलको खानेपानीको समस्या समाधानको कथा लामो छ। बुटवलमा खानेपानीको आपूर्ति गर्ने भन्दै २०५२ सालअघि नै ४ करोड लागतको सिस्ने खानेपानी आयोजना सुरू गरिएको थियो। उक्त आयोजना असफल देखिएपछि त्यसलाई झुम्सा खानेपानी आयोजनाको रूपमा अगाडि बढाइएको थियो।
समाचार स्रोत : सेतोपाटी