एक अर्बको लागतमा पूर्वाधार विकास

एक अर्बको लागतमा पूर्वाधार विकास

नगेन्द्र सापकोटा

काठमाडौँ । चालूू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यक्रमबाट २७९ वटा गरी ५१६ वटा पूर्वाधार कार्यक्रम कार्यान्वयन हुन लागेका हुन् । ती पूर्वाधार निर्माणका लागि काठमाडौँका १० वटा र प्रदेशका २० वटा निर्वाचन क्षेत्रबाट योजना छनोट भई धमाधम कार्यान्वयनको चरणमा छन् ।

सबै योजना पूर्ण रूपमा कार्यान्वयन भइसक्दा काठमाडौँँमा ठूला पूर्वाधार निर्माण हुने अपेक्षा गरिएको छ । चालूू आर्थिक वर्षमा काठमाडौँमा सङ्घअन्तर्गत १० वटा निर्वाचन क्षेत्रमा गरी ४० करोड र बागमती प्रदेशअन्तर्गत काठमाडौँँका २० वटा निर्वाचन क्षेत्रमा ६० करोड रुपियाँ गरी एक अर्ब रुपियाँको लागतमा भौतिक पूर्वाधारको काम हुने काठमाडौँको जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।

सरकारले सङ्घीय सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गर्न चालूू आर्थिक वर्षका लागि प्रतिसांसद चार करोड रुपियाँ र प्रदेशको पूर्वाधार कार्यक्रमका लागि प्रतिसांसद तीन करोड रुपियाँ प्रदान गरेको छ ।

सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि १६ लाख र प्रदेश पूर्वाधार कार्यक्रमबाट २४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र १० का सांसद राजन केसीले चालूू आर्थिक वर्षमा निर्माण हुने पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट काठमाडौँमा ठूला पूर्वाधारको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “न्यूनतम १० लाखभन्दा कमका कुनै पनि योजना छनोट गर्न नपाइने कार्यविधि भएकाले १० लाखभन्दा माथिका योजना सम्पन्न भइसक्दा स्थानीयको मागअनुसारको पूर्वाधार निर्माण हुन्छ ।” काठमाडौँ निर्वाचन क्षेत्र ७ ‘ख’ प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले चालूू आर्थिक वर्षमा पूर्वाधार निर्माणमा उल्लेख्य काम हुन लागेको बताउनुभयो । अहिले योजना छनोट भइसकेकाले अब कार्यान्वयन चरणमा रहेकाले आवश्यक समन्वय सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँमा सङ्घ र प्रदेशका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट सडक स्तरोन्नति, सामुदायिक भवन, सांस्कृतिक सम्पदा संरक्षण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण, स्वास्थ्य सेवाका पूर्वाधार निर्माण, खेलकुद मैदान लगायतका भौतिक पूर्वाधार निर्माण हुन लागेको जिल्ला समन्वय समिति काठमाडौँंले जनाएको छ ।

जिल्लामा एकभन्दा बढी साझा आयोजना कार्यान्वयन गर्न सकिने, अस्पताल सञ्चालन, स्वास्थ्यसम्बन्धी उपकरण व्यवस्था लगायतका स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माण गर्न सकिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिमा उल्लेख छ ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/mainnews/2020-12-29-29236

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *