एक दशकमा एउटै नदीमा छ वटा पक्की पुल निर्माण

एक दशकमा एउटै नदीमा छ वटा पक्की पुल निर्माण

सिन्धुलीमाढी । कुनै बेला एउटा झोलुङ्गेपुल समेत देख्न मुस्किल पर्ने सिन्धुली जिल्लाको कमलाखुँजस्थित कमला खोला यतिबेला पक्की पुलमय बनेको छ ।

जिल्लाकै सबैभन्दा ठूलो नदीको रुपमा रहेको कमला खोलामा एक दशकको बीचमा यतिखेर छ वटा पक्की पुन निर्माण भएका छन् । तीमध्ये पाँच वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाको वडा नं. २ रतनपुर र वडा नं. ३ झुंगालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टाँडी र वडा नं ९को हात्तीवन गाँछी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमान र वडा नं. १० जोड्ने पक्की पुल भने निर्माणाधीन अवस्थामा छ ।

कमलामाई नगरपालिका–१० डाँडाटोल निवासी मीनकुमारी कार्कीलाई कमला नदीमा पक्की पुल निर्माणसँगै निकै उत्साह बढेको छ । चार वर्षअघि स्थानीय भिमान बजारमा दैनिक उपभोग्य वस्तु किनेर घर जाँदै गर्दा कमला नदीमा एक्कासि आएको बाढीले झण्डै २० मिटरसम्म उहाँलाई बगाएको थियो । त्यो कहालीलाग्दो क्षणलाई अहिले भने सोही ठाउँमा बन्न सुरु गरेको पक्की पुलले मलम लगाउन थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बर्षादको मौसममा भिमानबाट घर जाँदै गर्दा हामी आठ जनालाई बगाएको थियो । बगरको बीचमा पुगेपछि एक्कासि बाढी आयो, सबैलाई बगायो । तुरुन्तै गाँउलेहरु आएर उद्धार गरी सबैलाई बचाए ।’ उक्त बाढीले आफूसँग भएको व्याग बगाउँदा एक लाख रुपियाँ नगद हराएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार कमला नदीमा वारपार गर्ने पुल नहुँदा भिमान पारिका बासिन्दाले बर्सेनि सास्ती खेप्न बाध्य थिए । अहिले भने पक्की पुल निर्माण सुरु भएपछि स्थानीय सबैमा खुशी छाएको छ ।

उक्त वडाका अध्यक्ष कैलाश ढुङ्गेलका अनुसार प्रदेश सरकारको करिब १७ करोड रुपियाँ सहयोगमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो उक्त पुलको निर्माण सुरु भएको एक वर्ष भएको छ । निर्माण सुरु गरेको मितिले ३० महिनामा सक्ने गरी सूर्य एण्ड सन् प्रालीले पुल निर्माणको ठेक्का पाएको छ । पुल निर्माणसँगै स्थानीयमा खुशी छाएको उहाँले बताउनुभयो …

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *