कछुवा गतिमा भौतिक पूर्वाधार, दिनको ३२५ मिटरमात्र सडक कालोपत्र

काठमाडौं । सरकारले पछिल्लो १ सय दिनमा ३२.५ किलोमिटर सडक कालोपत्र गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार सय दिनमा २ लेनको सडक २७ किलोमिटर र चार लेनको ५.५ किलोमिटर कालोपत्र भएको छ ।
तथ्यांक अनुसार नेपालमा सडक कालोपत्र गर्ने गति प्रतिदिन ३ सय २५ मिटरमात्र हुन आउँछ । मन्त्रालय आफ्नो यही गतिमा रमाइरहेको छ । मन्त्री दाहाल भन्छन्, ‘सय दिनका लागि किटान गरिएका लक्ष्यका दृष्टिले यसलाई कम भन्न मिल्दैन ।’
यसबीच वर्षा र बाढीबाट सिर्जित व्यवस्थापनमा लाग्न नपरेको भए अझ बढी काम हुने उनको दाबी छ । नेपालमा सबैभन्दा धेरै विकास बजेट खर्च गर्ने निकाय भौतिक मन्त्रालय र यस मातहतको सडक विभाग हो ।
यो निकायले नै निकै सुस्त प्रगति गर्दा असर समग्र अर्थतन्त्रमा देखिन्छ । भौतिकमन्त्री दाहालले मन्त्रालयको यो रोग समाधानमा ठोस पहल गर्न सकेका छैनन् । किनकि, यसबीच कुनै पनि ठूला आयोजनाको समस्या समाधान गरी गति दिने प्रयास गरेको देखिँदैन । बरु खुद्रे आयोजना र कार्यक्रममै उनी रमाइरहेका छन् ।