करीब नौ सय वर्ष पुरानाे शिव मन्दिर पुन:निर्माण शुरु

करीब नौ सय वर्ष पुरानाे शिव मन्दिर पुन:निर्माण शुरु

कावासोती । जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कैलास सन्यास आश्रममा शिखर शैलीको शिव मन्दिर पुर्ननिर्माण हुने भएको छ ।गैँडाकोट नगरपालिका १३ मा रहेको कैलास सन्यास आश्रममा करीब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुर्ननिर्माणको काम थालनी गरिएको हो ।

गजुर छोडेर ५१ फिट उचाई र चौडाई १७ देखि १९ फिट भएको सो कैलाश सन्यास आश्रम महादेव स्थानका अध्यक्ष पुण्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गै ढुङ्गाले मन्दिर निर्माण गरिने र भित्र पुरानो शिव लिङ्ग राखिने घिमिरेले जानकारी दिनुभयो ।

मन्दिर निर्माणका लागि पुरातत्व विभागले सात करोड ६८ लाख रुपियाँ बिनियोजन गरेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यस अघि पुरातत्व विभाग आफैले यहाँ उत्खनन् गरि १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको थियो ।

सो क्रममा यहाँ भेटिएका प्रमाणका आधारमा यो शिव मन्दिर भएको र शिखर शैलीमै बनेको टुँगोमा पुगेको थियो । भारतको गुजरातमा यही प्रकारका वास्तुकलाका ढुँगाले मन्दिर बनेको र उडिसामा पनि अझै सो शैलीको मन्दिर रहेका कारण त्यही आधारमा यहाँ पनि शिखर शैलीको शिव मन्दिर निर्माण गर्ने टुँगोमा पुगिएको मन्दिरका अध्यक्ष घिमिरले जानकारी दिनुभयो । करिव आठ/नौसय वर्ष अघि साे क्षेत्रमा मन्दिर बनेका थिए । तर, मन्दिर कसरी भत्कियो भन्ने कुरा भने अझै पत्ता लागेको छैन ।

यहाँ उत्खनन गरिएका वास्तुकलाले भरिएका ढुङ्गा अपुग हुने भएकाले अहिले यहाँ तीन जना कालिगढले पुरानै ढुङ्गाको जस्तै आकृतिमा ढुङ्गा कुँद्ने काम गरिरहेका छन् । ढुङ्गा कुँद्नका लागि जिल्लाकै पहाडी क्षेत्र र पाल्पाबाट १६ टिप्पर ढुङ्गा ल्याईएको पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश आचार्यले जानकारी दिनुभयो । पुरातत्व विभागको मान्यता अनुसार ती ढुङ्गामा कुँद्ने काम गरिएको आचार्यले जानकारी दिनुभयो । ढुङ्गा कुँद्ने र आवश्यक पूर्वाधारको काम गत वर्षबाट नै सुरु गरिएको भए पनि कोरोनाका कारण आठ÷ नौ महिना रोकिएको थियो । दुई वर्षअघिदेखि नै काम थालनी गरिएको र यसै आर्थिक वर्षमा सम्पन्न गर्ने समयअवधि रहेको थियो । तर, विभिन्न कारणले ढिलाई हुन पुग्यो । अहिले कामलाई तिब्रता दिईएको आचार्यले बताउनुभयो ।

यहाँ भेटिएका कलात्मक ढुङ्गाहरु सेनकालीन हुन । यहाँ विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग ,ढुङ्गा छेडेर राखिएका फलामका छडहरु, देवीदेवताको मुर्ति र विभिन्न आकार प्रकारमा कुदिएका कलात्मक ढुङ्गा उत्खननका क्रममा भेटिएका छन् ।

ढुङ्गा शंख चक्र , विभिन्न देवी देवताको आकार प्रकारमा कुँदिएका छन् । दुई सय मिटर आसपासमा यस्ता ढुङ्गा फेला पारिएको हो । मन्दिरको वेसलाईन खन्नेक्रममा गजुरको तल्ले भाग फेला पारेको आचार्यले बताउनुभयो । मन्दिर निर्माण संगै उत्खनन गर्दै जाने र उत्खननका क्रममा भेटिएका वस्तुलाई मन्दिरमा प्रयोग गर्ने र अपुग अन्य वस्तु नयाँ निर्माण गर्ने आचार्यले बताउनुभयो ।

यहाँ बसोवास गर्ने पाकापुस्ताहरु र किंवदन्ती अनुसार यहाँ पाल्पाका राजा मुकुन्दसेनले मन्दिर निर्माण गरेका हुन । राज मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरवार निर्माण गरि सुरक्षाको लागि गैंडाकोटदेखि माथी डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेका हुन । तत्कालीन राजा महेन्द्रको पालादेखि नै पुर्नवास योजना लागु हुनुपूर्व यस क्षेत्रका आदिवासी थारु समुदायले सिख्रौली कुमारवर्ति (परिकर्मा पुजा) सालका वृक्ष मुनि केही माटाका प्राचीन मुर्तीहरु राखि चैत शुक्ल पक्षमा पूजाआज गर्दै आईरहेका थिए । २०१६ सालमा पुर्नवास योजना अन्र्तगत पाहाडी भूभुभागमा वसोवास गर्ने व्यक्तीहरु बसाई सराईआएपछि भारतको कानपुरबाट खयर संकलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी शिव मन्दिर स्थापना गरेर सोहि समयदेखि नै यहाँ पूजाअर्चना हुदै आईरहेको छ ।

यहाँ अहिले मठ मन्दिर साधुसन्त बस्ने घर विभिन्न देवीदेवताका मठमन्दिर , धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिरलाई सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि ४० लाख रुपैँया बिनियोजन गरेको थियो । अहले मन्दिरको दक्षिणपट्टी पक्की पर्खाल निर्माण सम्पन्न भएको छ ।

ऐतिहासिक महत्व बोकेको भएपनि ओझेलमा पर्दै आएको यस क्षेत्रमा शिव मन्दिर पुर्ननिर्माण भएपछि यहाँ धार्मिक पर्यटकको आगमनमा बृद्धि हुने र जिल्लाकै मुख्य धार्मिक पर्यटकिय स्थलका रुपमा विकास हुनेमा यहाँका सरोकारवालाले विश्वास लिएका छन् ।

मन्दिरको नजिकै कलकल बगेको नाराणी नदी , नदी पारीको चितवन राष्टिय निकुञ्जमा देखिने गैडा , बदेँल , मृग , मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाईने र पूर्व पश्चिम राजमार्गबाट आठ सय मिटर नजिकमा रहेका कारण पनि मन्दिर निर्माणपछि यो ठाउँ पर्यटकीय रुपमा समेत प्रमुख गन्तव्य बन्ने गैंडाकोट १३ का वडा अध्यक्ष पदम पमैडेलले बताउनुभयो ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/mustread/2021-01-02-29519

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *