काठमाडौँ–तराई द्रुत मार्ग : सुरुङ र पुलको बोलपत्र आह्वान

काठमाडौँ–तराई द्रुत मार्ग : सुरुङ र पुलको बोलपत्र आह्वान

भउचप्रसाद यादव

काठमाडौँ । काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता पौडेलले स्पष्ट पार्नुभयो । उहाँका अनुसार द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाइब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेवडाँडा खण्ड हो ।

यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर रहेको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग तथा हाइब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङमार्ग र हाइब्रिज निर्माण गरिने छ ।

यसअघि सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रिक्वालिफिकेसन’का क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए, जसमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत थिए ।

रिक्वालिफिकेसनका क्रममा सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूले मात्र ठेक्काका प्रस्ताव पेस गर्न सक्ने सैनिक प्रवक्ता पौडेलले स्पष्ट पार्नुभयो ।
नेपाली सेनाले २०७६ फागुनमा द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माण गर्ने कम्पनी छनोटका लागि प्रिक्वालिफिकेसन आह्वान गरेको थियो । सैनिक प्रवक्ता पौडेलका अनुसार निर्माणका लागि उत्कृष्ट ठहरिएका कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग र हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । यस मोडेलअनुसार निर्माण छनोट भएका कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफँैले गर्नुपर्ने हुन्छ । त्यसैगरी सुरुङमार्ग तथा हाइब्रिजको निर्माण सम्पन्न भएको एक वर्षसम्म डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यसलाई गोरखापत्र अनलाईनमा पढ्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/mainnews/2021-02-21-32396

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *