किन समयमा पूरा हुँदैनन् विकास निर्माणको काम? भौतिकका सहसचिव शर्माको लेख

किन समयमा पूरा हुँदैनन् विकास निर्माणको काम? भौतिकका सहसचिव शर्माको लेख

पूर्वाधार निर्माण आयोजनाहरुको कार्यान्वनमा भइरहेको ढिलाइले देश विकासमा अपेक्षित गति लिन नसकेको गुनासो सबैतिरबाट सुनिने गरेको छ। हुन पनि थुप्रै विकास निर्माणका आयोजनाहरु पूर्व निर्धारित समयमा सम्पन्न हुन नसकेका उदाहरण छन्। विकास निर्माणका यस्ता आयोजनाहरु पूर्व निर्धारित समयमा सम्पन्न हुन नसकेको प्रसंग उठाउँदा दुईवटा परिवेशलाई ध्यान दिन वा विश्लेषण गर्नु उपयुक्त हुन्छ।

पहिलो निर्माण कार्य पूरा गर्न निर्धारण गरिएको समयावधिको उपयुक्तता र दोस्रो निर्धारित समयावधि भित्र काम सम्पन्न हुन नसक्नुका कारणहरु।

पहिलो कुरा गर्दा निर्माण कार्यको समयावधि निर्धारण कुन आधारमा गर्ने भन्ने कुरा आउँछ। कुनै पनि ठेक्का वा निर्माण कार्य सम्पन्न हुन त्यो कार्य भित्रका सम्पुर्ण क्रियाकलापहरु सम्पन्न भएको हुनुपर्छ। ती सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्न लाग्ने समग्र समय नै आयोजना पूरा गर्न लाग्ने समय हो भन्ने बुझ्नु पर्छ।

प्रत्येक क्रियाकलाप पूरा गर्न लाग्ने समय ती क्रियाकलापमा लाग्ने जनशक्ति, निर्माण सामग्री र मेशिन औजारको परिमाण र तिनको उपलब्धता; अनि उक्त कार्य गर्न अपनाइएको निर्माण प्रविधिले निर्धारण गरेको हुन्छ।

यसका लागि ‘क्रिटिकल पाथ मेथड'(सीपीएम) र ‘प्रोजेक्ट इभ्यालुएसन एण्ड रिभ्यु टेक्निक'(पीइआरटी) जस्ता निर्माण व्यवस्थापनका औजारहरु प्रयोग गरिन्छ। यसका लागि ‘एम एस प्रोजेक्ट’, ‘टिम ग्यान्ट’ र ‘प्रिमा भेरा’ जस्ता कम्प्युटर प्रोग्रामिङमा आधारित सफ्टवेयरहरु पनि उपलब्ध छन्।

विकसित मुलुकहरुमा हालका दिनहरुमा यी विधिहरु प्रयोग गरिने गरिएको भए तापनि विश्वकै थुप्रै देशहरुमा निर्माण समयावधि निर्धारण गर्दा यस्ता आधारमा भन्दा पनि विगतको अनुभवकै आधारमा गर्ने विधि ‘जजमेन्टल मेथड’ नै बढी प्रचलनमा छ।

हाम्रो देशमा अधिकांश आयोजनाहरुमा अझै पनि सीपीएम र पीइआरटीको कुरै छाडौं ‘जजमेन्टल’ भन्दा पनि वैज्ञानिक विश्लेषण बिना नै उक्त आयोजनाको आवश्यकता वा उपलब्ध श्रोत (आन्तरिक, वैदेशिक अनुदान वा ऋणको उपलब्ध समयावधि) लाई आधार मानेर हचुवा तरिकाले गर्ने प्रचलनको व्यापकता छ भन्न सकिन्छ।

त्यसैले नेपालको परिप्रेक्ष्यमा कतिपय आयोजना समयमा सम्पन्न हुन नसक्नुमा उक्त आयोजना सम्पन्न गर्न दिएको म्याद उपयुक्त नहुनुलाई पनि मान्न सकिन्छ। उदाहरणका लागि जटिल कार्यक्षेत्र, ठूलो आकार र अगाडिको अनुभवलाई आधार मान्न सकिने अवस्था नभएको कारणले माथिल्लो तामाकोशी, मेलम्ची, काठमाडौं- तराई द्रुतमार्ग जस्ता आयोजनाहरु।

नेपालको सार्वजनिक निर्माण क्षेत्रमा आयोजना सम्पन्न हुनमा भएका ढिलाइका लागि माथि उल्लिखित दुई वटामध्ये पहिलोभन्दा दोश्रो परिवेशको भूमिका बढी हुने भएकाले ‘निर्धारित समयावधि भित्र काम सम्पन्न हुन नसक्नुका कारणहरु’ मा प्रमुख सरोकारवालाहरु बीच पर्याप्त छलफल र विश्लेषण गरी समाधानका उपाय पत्ता लगाई नीतिगत तथा कार्यान्वयन स्तरमा सुधार गर्न अझ बढी सान्दर्भिक हुन्छ।

यो समाचार बीजमाण्डू डट कमबाट साभार गरिएको हो । यो खबर बीजमाण्डू डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *