कृषकलाई मिनि–टिलरदेखि पम्प, काँटा र जैविक मलसम्म अनुदान

कृषकलाई मिनि–टिलरदेखि पम्प, काँटा र जैविक मलसम्म अनुदान

मकवानपुर । कृषि ज्ञान केन्द्र चितवनले थाहा नगरपालिकाको वडा नम्बर ३ घर्तिखोलाका कृषकहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी यन्त्र, उपकरण र कृषि सामग्रीहरु वितरण गरेको छ । थाहा–३ स्थित शुभारम्भ कृषक सहकारी संस्थामार्फत् कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर, पानी तान्ने पम्प, पाइप, तौल काँटा, स्प्रे पम्प र जैविक मल वितरण गरिएको हो ।

सोमबार घर्तिखोलाको बागेखोलामा आयोजित एक कार्यक्रमका बीच कृषि यान्त्रीकरणअन्तर्गत २२ वटा मिनि टिलर, सिंचाइ अन्तर्गत ८ वटा पानी तान्ने पम्प र ६ हजार मिटर पाइप, बजारीकरणअन्तर्गत १४ थान तौल काँटा र ३० थान स्प्रे पम्प वितरण गरिएको सहकारी संस्थाका सचिब सुदर्शन विष्टले जानकारी दिनुभयो ।

त्यसैगरी ८० जना कृषकलाई जैविक मल, भिटामिन लगायत सामग्री प्रदान गरिएको उहाँले बताउनु भयो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, तरकारी जोन पालुङका प्रमुख महेश्वर लामिछाने, शीतोष्ण बागवानी केन्द्र दामनका प्रमुख कालिकाप्रसाद कोइराला, थाहा नगरपालिकाका कृषि अधिकृत संजय तिवारी, थाहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेश केसी लगायतको उपस्थितिमा कृषि सामग्री वितरण गरिएको थियो ।

कार्यक्रम शुभारम्भ कृषक सहकारी संस्थाका अध्यक्ष विक्रम विष्टको अध्यक्षतामा भएको थियो । यसअघि ज्ञान केन्द्रले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ आलु वितरण गरेको थियो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *