कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

मकवानपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी जोन पालुङले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

आइतबार थाहा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी जोनले थाहा नगरपालिकाका विभिन्न कृषक समूहमा आवद्ध कृषकहरुलाई २९ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

चालु आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार थाहा नगरपालिकामा २९ वटा हाते ट्याक्टर वितरण गरिएको र छिट्टै इन्द्रसरोबर गाउँपालिकामा ९ वटा हाते ट्याक्टर वितरण गरिने जोन इकाइका कृषि प्राविधिक अनिल तिवारीले जानकारी दिनु भयो । अहिले हिउँदे तरकारी खेतीका लागि खनजोतको समय भएकोले कृषकहरुको मागको आधारमा ट्याक्टर वितरण गरिएको उहाँले बताउनु भयो ।

कृषकहरुलाई थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले ट्याक्टर वितरण गर्नुभएको हो । सो अवसरमा उहाँले कृषकहरुलाई ट्याक्टरको सदुपयोग गर्न र छरछिमेकका कृषकहरुलाई समेत सहुलियतमा उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

चालु आर्थिक वर्षमा तरकारी जोनले कृषकहरुलाई ट्याक्टर वितरण गर्न रु. १५ लाख बजेट विनियोजन गरेको थियो । कृषकहरुलाई वितरण गरिएको ट्याक्टर एक वर्ष भित्र बिग्रिएमा घरमै प्राविधिक पठाएर मर्मत गरिदिने जोन कार्यालयले जनाएको छ ।

कृषकहरुलाई ट्याक्टर वितरणसँगै प्राविधिकहरुले ट्याक्टर चलाउँदा ध्यान दिनु पर्ने कुराहरु र सुरक्षाका सम्बन्धमा जानकारी गराएका थिए । वितरण गरिएका ट्याक्टरहरुलाई एक वर्षका लागि २ पटकसम्म निःशुल्क सेवा(फ्री सर्भिस) उपलब्ध गराउने हेटौंडा सप्लायर्सका प्राविधिक बिमल खड्काले जानकारी दिनुभयो ।

ट्याक्टर वितरण कार्यक्रम जोन संचालक समितिका अध्यक्ष सुविनभक्त श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *