कोटेश्वरको नयाँ लेन एक महिना भित्र बनिसक्ने

कोटेश्वरको नयाँ लेन एक महिना भित्र बनिसक्ने

श्याम राई

काठमाडौं । सडक विभागले कोटेश्वर चोकको सवारी जाम कम गर्न यतिखेर नयाँ सडक लेन थप्ने कार्य सुरु गरेकाे छ। सडक डिभिजन कार्यालयले एक महिनाभित्रमा लेन कालोपत्रे गर्ने योजना छ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले जडिबुटीदेखि कोटेश्वर चोकसम्म नयाँ लेन थप्ने कार्य भैरहेको जानकारी दिए। उनले भने,‘अहिले धमाधम जडिबुटीदेखि कोटेश्वर चोक सम्मको करिब एक किलाेमिटर सडकको नयाँ लेन बनाउने कार्य भैरहेको छ,काम रोकिएको छैन।’

डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मौसमले साथ दिएमा एक महिनाभित्रमा लेन कालाेपत्रे भइसक्ने बताए। ‘लेन विस्तार कार्य भैइहेको छ,अहिले चार लेएरको काम भएको छ,’उनले भने,‘वर्षातको सिजन सुरु भइसकेको छ,मौसमले साथ दिएमा ३० दिनमा कालोपत्रे हुन्छ।’

कोभिड-१९ का कारण भनेजस्तै निर्माण सामग्रीहरु ल्याउन भने नसकिएको उनले सुनाए। ‘कोरोना संक्रमणले अहिले पनि निषेधाज्ञा कायम छ,भनेको समयमा सामानहरु ल्याउन सकिएको छैन,त्यसैले काम गर्न समस्या छ’ उनले भने।

यस्तो बन्ने छ नयाँ लेन

कोटेश्वर–जडिबुटी सडक ४ लेनको छ। डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपालीका अनुसार यो सडक खण्डमा नयाँ ३ लेन थपिने छ। उत्तरतर्फ एक लेन र दक्षिणतर्फ दुई लेन थप हुनेछ।

उत्तरतर्फको लेन कोटेश्वरबाट जडिबुटी जाने सवारी गुड्ने छन् भने दक्षिण तर्फबाट ललितपुर जाने सवारी गुड्ने छन्। करिब ८ करोड लागतमा लेन बन्दै छ। लेन विस्तारकाे काम भने २०७७ भदाैबाट नै सुरु भएकाे थियाे।​

२०७५ सालमा नै जापानी सहयोग नियोग (जाइका) ले जाम हटाउन प्रारम्भीक अध्ययन गरेको थियो। जाइकाले जाम हटाउन तीनकुने–कोटेश्वर सुरुङमार्ग, तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ चार लेनको गाडी गुड्ने आकाशेपुल र तीनकुने–जडीबुटी सुरुङमार्ग विकल्प देखिएको प्रतिवेदन निकालेको थियो।

समयमा जामको व्यवस्थापन नगरिँदा सवारी जाम भएको बेला कौशलटार,जडिबुटीबाट तीनकुनेसम्म आइपुग्न कम्तीमा पनि एक घण्टासम्म लाग्ने गरेको छ।

यो समाचार थाहा खबर डट कमबाट साभार गरिएको हो । यो खबर थाहा खबर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://thahakhabar.com/news/128983/

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *