खानेपानी आयोजनाका लागि ‘ब्याकवाश’ ट्यांकी बनाइँदै

खानेपानी आयोजनाका लागि ‘ब्याकवाश’ ट्यांकी बनाइँदै

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउन शुरू भएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम निरन्तर अगाडि बढिरहेको छ । एशियाली विकास बैंक, नगर विकास कोष, खानेपानी विभाग, पाँचखाल नगरपालिका र उपभोक्ताको लगानीमा निर्माण हुने आयोजना अन्तर्गत पाँचखाल नगरपालिका–९ चारपिप्लेमा ब्याकवाश ट्यांकी निर्माण गरिने भएको छ । सो ट्यांकी निर्माणका लागि शिलान्यास सम्पन्न भएर निर्माण प्रक्रिया अगाडि बढेको छ ।

आयोजना सम्पन्न भएपछि चरम समस्या बेहोर्दै आएका यहाँका बासिन्दाले स्वच्छ र शुद्ध खानेपानी पाउनेछन् । पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सुनकोशीको बिमिरे र लोपोन्मुख पहरी बस्तीको मुख्य ट्यांकीबाट ब्याकवाशका रूपमा जम्मा हुने पानी राख्न निर्माण हुने ट्यांकीको क्षमता १ लाख ५० हजार लिटरको हुनेछ ।

ट्यांकी निर्माणका लागि शिलान्यास गर्दै स्थानीय रत्नबहादुर पहरीले लामो समयदेखि अभाव झेल्दै आएको खानेपानीको समस्याबाट मुक्त हुन लागेकोमा खुशी व्यक्त गरे । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको प्रमुख समस्या खानेपानीको कामसँगै वडा जोड्ने धुले सडकलाई पक्की गर्दै लैजाने योजना अगाडि सारिसकिएको बताए ।

सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सबै राजनीतिक दल र नगरवासीसँग सहकार्य गर्दै निर्धारित समयमै योजना सम्पन्न गर्नेतर्फ समिति लागिपरेको बताए । यसअघिको सूचीमा समावेश हुन नसकेर छुटेकाका लागि पुनः समावेश हुन आवश्यक व्यवस्था मिलाउने तयारी भएको उनको भनाइ छ । आयोजना निर्माणका लागि हुवासुई कन्काई जेभीसँग रू. १ अर्ब ३४ करोड १० लाख ६५ हजारमा ठेक्का सम्झौता भएको छ । ३० महीनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजनाको काम गत असार १५ गतेदेखि शुरू भएको हो । रासस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *