खुर्कोट–दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा

खुर्कोट–दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा

गलकोट । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ ।

दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारण लाइन तथा सबस्टेशन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन । उत्पादित विद्युत्को यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्याउन जरुरी हुन्छ ।

यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारण लाइन र सब–स्टेशन निर्माण गर्नुपर्दछ । दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ ।

हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन् । अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारण लाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।

दाना सबस्टेशनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युत्मा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशालीले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट–दाना सबस्टेशनले फाइदा पुर्याउनेछ ।

अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३।४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारण लाइनले छोएको दाना सब–स्टेशनबाट जोडिएको छ ।

केन्द्रीय प्रसारण लाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो । अहिले केन्द्रीय प्रसारण लाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न शुरु गरेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सबस्टेशनमार्फत वितरण हुनेछ ।

अहिले बागलुङमा मोदी सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारण लाइन तथा खुर्कोट सबस्टेशन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएपछि बागलुुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *