गण्डकीमा जलविद्युत् विकासको ढोका खुल्यो : राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै स्थानीय उत्पादन

गण्डकीमा जलविद्युत् विकासको ढोका खुल्यो : राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै स्थानीय उत्पादन

म्याग्दी । म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेसन तयार भई परीक्षण सफल भएसँगै यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सब स्टेसन र प्रसारण लाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गएको थियो ।

नेपाल विद्युत् प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेसन सञ्चालनमा ल्याएपछि यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिन थालेको हो । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण भएको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना निर्माण सकिएको एक वर्षपछि र मुस्ताङमा निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्माण सकिएको तीन वर्षपछि दाना सब–स्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषका अनुसार निर्माणको अन्तिम चरणमा रहेको ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि यसै सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाले निर्माण सम्पन्न गरी परीक्षण उत्पादनको तयारी थालेको छ । विद्युत् उत्पादन भए पनि समयमै प्रसारण लाइन निर्माण नहुँदा एक वर्षसम्म विद्युत् खेर गएको घलेम्दी हाइड्रोपावर लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो ।

प्रसारण लाइन निर्माण भएपछि यस क्षेत्रमा जलविद्युत् विकासको ढोका खुलेको छ । यस क्षेत्रमा १०९ मेगावाट क्षमताको निलगिरी जलविद्युत् आयोजना निर्माणको चरणमा छ । प्रसारण लाइन निर्माण भएसँगै आयोजना एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको छ । राष्ट्रिय प्रशारणमा जोडिने भएपछि ४० मेगावाट क्षमताका रघुगङ्गा जलविद्युत् आयोजनाले पनि निर्माणलाई तीव्रता दिएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *