ग्वार्कोमा फ्लाइओभर बनाउन ७ निर्माण कम्पनीको आवेदन

ग्वार्कोमा फ्लाइओभर बनाउन ७ निर्माण कम्पनीको आवेदन

काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन ७ वटा कम्पनीले आवेदन पेश गरेका छन् । सडक विभागले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनाउने गरी ठेक्का आह्वान गरेको थियो ।

सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका आधारमा ग्वार्को चोकमा फ्लाइओभर निर्माणको लागि प्रक्रिया अघि बढिसकेको बताए । यो फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको छ ।

‘चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो,’ उनले भने,’बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ,’ उनले भने ।

ठेक्कामा मालिका कन्स्ट्रक्सन पनि सहभागी भएकाले उसलाई मूल्यांकनमा राख्ने/नराख्नेबारे विभाग अनिणिर्त छ । भ्रष्टाचारको मुद्दा लागेका कम्पनी टेन्डरमा सहभागी भएमा सरकारको स्वीकृतिमा मात्रै मूल्यांकन गर्न सकिने कानुनी व्यवस्था छ । त्यसका लागि मन्त्रालयको अनुमति चाहिने भएपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तिमा भएको ढिलाइले मूल्यांकन पनि प्रभावित भएको छ ।

ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबर अनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *