चट्टानी पहाड छिचोलेर सडक निर्माण

चट्टानी पहाड छिचोलेर सडक निर्माण

दैलेख । दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिका सडक संजालले जोडिएका छन्। चट्टानी पहाडहरू छिचोलेर कच्ची सडक निर्माण भएपछि दैलेख र कालिकोट जिल्लालाई उत्तर-दक्षिण सडक सञ्जालले जोडेको हो। कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि दैलेखको माथिल्लो डुङ्गेश्वर, बैक, मालिका, दुल्लु डाँडामाडी, सिलंगीबजार, कुसापानी, ब्याउलीको लेक, कालिकोट, जुम्ला, मुगुहुँदै तिब्बत जोड्ने सडक अन्तरगर्त भैरवी र शुभकालिका गाउँपालिका सिमा क्षेत्रमा ट्रयाक खोलिएको हो।

कर्णाली राजमार्गको उत्तर–दक्षिण वैकल्पिक राजमार्गको रुपमा हेरिएको उक्त सडकखण्ड अन्तरगर्त कालिकोटको सिमा क्षेत्रमा कच्ची सडक पुगेको हो। दैलेखको भैरवी गाउँपालिका–७ बतासेदेखि कालिकोटको शुभकालिका गाउँपालिका–६ भोटेगढीसम्म ट्रयाक खोलिएको छ। सडकको ट्रयाक खोल्न झण्डै पाँच करोड रुपैयाँ खर्च भएको भैरवी गाउँपालिकाका इन्जिनियर हिरासिंह थापाले जानकारी दिए। उक्त सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारले बहुवर्षीय योजना अन्तरगत २९ करोड रुपैयाँ विनियोजन गरिसकेको इन्जिनियर थापाले बताए। ‘सडकखण्ड स्तरोन्नती भएर मुगुसम्म जोडिएपछि यो सडकखण्ड नै कर्णाली प्रदेशका लागि आर्थिक केन्द्र बन्छ,’ उनले भने।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले सडक कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ दहचौर हुँदै पानतडीबाट कर्णाली राजमार्गको सेरावाडामा जोडिने बताए। ‘यो सडक कर्णाली राजमार्गमा जोडिपछि अहिलेको कर्णाली राजमार्ग दुरीभन्दा ६८ किलोमिटर सडक छोटो पर्छ,’ अध्यक्ष बुढाले भने ‘यो सडकखण्डबाट मुगु, जुम्ला र कालिकोटको पूर्वी क्षेत्रका नागरिकहरुका लाग आवतजावतमा सहज हुनेछ।’

दैलेखको पञ्चकोशी तिर्थस्थल अवलोकन गर्दै रारा जाने पर्यटकहरुका लागि उक्त सडकखण्ड नै पर्यटकीय मार्ग बन्ने र सडकले पर्यटन व्यवसायलाई बढवा दिने अध्यक्ष बुढाको भनाई छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले विकासको मुल पूर्वाधार सडक भएकाले उक्त सडकलाई स्तरोनन्तीका लागि पहल गर्ने बताए।

कुनै समय पैदल हिड्नसमेत हम्मे–हम्मे पर्ने उक्त क्षेत्रमा सडक पुगेपछि स्थानीय खुसी भएका छन्। ‘भीरपाखा र जंगलैजंगल रहेको गाउँमा सडक आउँला भन्ने सोचेकै थिएनौँ,’ दैलेख र कालिकोटको सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु भन्छन् ‘राज्यको आँखा यहाँसम्म पुग्यो, सडक आउँदा खुसी लागेको छ।’ निर्माण भएको सडक साँघुरो भएका कारण दुईतर्फी गाडी गुड्ने सम्भावना भने छैन।

यो समाचार अन्नपूर्ण पोस्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपूर्ण पोस्ट डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

http://annapurnapost.com/news/174026

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *