चन्द्रागिरी हिल्स तेस्रो त्रैमाससम्म १८ करोडभन्दा बढी खुद नोक्सानीमा

चन्द्रागिरी हिल्स तेस्रो त्रैमाससम्म १८ करोडभन्दा बढी खुद नोक्सानीमा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी १८ करोड ११ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी रकम बढेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन आम्दानी घटेकाले खुद नोक्सानी बढेको देखिन्छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म ४१ करोड २२ लाख ११ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १७ करोड ४२ लाख २० हजार रुपैयाँ मात्र यो आम्दानी गरेको हो । सञ्चालन आम्दानी घटेको कम्पनीको कुल खर्च पनि घटेको छ । गत वर्ष २३ करोड ४ लाख ७२ हजार रुपैयाँ कुल खर्च भएको कम्पनीको यस वर्ष १७ करोड ६६ लाख ९ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी माघ २३ गते कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता २ हजार ४०९ रुपैयाँ रहेको छ । दोस्रो बजारमा लगानीकर्ताको आकर्षणमा रहेको यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको कुल सम्पत्ति ३ अर्ब ८२ करोड ५१ लाख २१ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व २ अर्ब ६१ करोड १८ लाख ६८ हजार रुपैयाँको छ । यो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ दशमलव शून्य ९ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ११ दशमलव ८१ रुपैयाँ नोक्सानीमा देखिएको छ ।

कोरोनका कारण व्यवसायमा असर परेको कम्पनीले जानकारी दिएको छ । तेस्रो त्रैमासको अवधिमा कम्पनीद्वारा सञ्चालित केवलकारमा औसतमा दैनिक १ हजार ४०० जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४० प्रतिशत रहेको पनि कम्पनीले प्रष्ट पारेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *