चित्लाङको सम्पदा सूचीमा रहेको मन्दिरबाट एकै रात ५ वटा मूर्ति चोरी

चित्लाङको सम्पदा सूचीमा रहेको मन्दिरबाट एकै रात ५ वटा मूर्ति चोरी

कुमार नेगी
मकवानपुरको ऐतिहासिक चित्लाङबाट एकै रात ५ वटा मूर्ति चोरी भएको छ । चोरी भएका मूर्तिहरुमध्ये ४ वटा एउटै मन्दिरको रहेका छन् भने अर्को एउटा ढुङ्गेधाराबाट चोरी भएको छ ।

गत पुस २८ गते राती पाँचवटै मूर्तिहरु चोरी भएका हुन् । स्थानीय भक्तालुहरु २९ गते विहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । ‘सदा झैं हामी विहान पूजा गर्न जाँदा मूर्ति चोरी भइसकेको रहेछ, हामी शिवलिङ्गको दर्शन गरेर फर्कियौँ’ मन्दिर नजिकै घर भएका बिक्रम लामाले भन्नु भयो ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट मूर्ति चोरी भएको हो । चोरी भएका मूर्तिहरुमा दूर्गा, भैरव, कुमार र नारायणको रहेका छन् । नजिकै सरावत पौवामा रहेको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको रहेको लामाले जानकारी दिनुभयो ।
तीन गजुर भएको शिवालय मन्दिर विश्वमै दूर्लभ मानिन्छ । पहिले सुनकै गजुर रहेको भए पनि चोरी भएपछि पुरातत्व विभागले पुनर्निमार्ण गरेको थियो । यो मन्दिर पुरातत्व विभागको सम्पदा सूचीमा रहेको छ । स्थानीयहरुले किराँतकालमै ३ गजुर भएको शिवालय निर्माण भएको जानकारी दिएका छन् ।
गणेशको मूर्ति चोरी भएको सरावत पौवाको ढुंगेधारा पनि ऐतिहासिक महत्वको छ । मध्यकालमा काठमाण्डौंस्थित पशुपति दर्शन गर्न जाने भक्तजनलाई शिवरात्रीमा सर्वत खुवाउने ठाउँ भएकोले ढुङ्गेधारा रहेको पौवाको नाम सरावत पौवा हुन गएको स्थानीय बुद्धिजीवी शान्तलाल नेवाःले जानकारी दिनुभयो । तीर्थयात्रीहरु सरावत पौवामा आराम गरेर ढुङ्गेधाराको पानी खाएर हिँड्ने गर्दथे । पहिले ३ गजुर भएको शिवालयको गणेशको मूर्ति लगेर ढुङ्गेधारामा प्रतिस्थापन गरिएको स्थानीयहरुको भनाइ छ ।

मूर्ति चोरी भएको स्थान चित्लाङ प्रहरी चौकीको आँगनसँगै जोडिएको छ । मन्दिर परिसरमा रातभरि नै विजुलीले उज्यालो हुन्छ । यति हुँदाहुँदै पनि मन्दिर भित्र रहेको मूर्ति हराएबाट सुरक्षा व्यवस्था कमजोर देखिएको स्थानीयहरुको टिप्पणी छ ।

विगतमा पनि शिवालयबाट मूर्तिहरु चोरी भएको सुनिएको स्थानीय कृष्ण जोशीले बताउनु भयो । पुरातत्व विभागको सम्पदा सूचीमा परेको भए पनि शिवालयको उचित संरक्षण हुन सकेको छैन । शिवालयमा ३ वटा ढोका रहेको भए पनि सबै ढोकाहरु सँधै खुल्ला रहन्छन् । शिवालयभित्र ३ वटा शिवलिङ्ग रहेका छन् ।

शिवालय र ढुङ्गे धारामा रहेका मूर्तिहरु चोरी भएको खबर पाएपछि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *