चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

अँग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकहरुको संख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यवसायिक रुपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल‘क्वाड’ चढ्नेहरुको धुइरो लाग्न थालेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण गर्न लकडाउन घोषणा भएपछि ‘क्वाड’ को मज्जा लिन आउने पर्यटकहरुको संख्या कमी भए पनि दशैं–तिहार यता क्वाडको आकर्षण बढेको संचालक रामशरण नेपालले बताउनु भयो ।

एक वर्षअघि गेयर नेपाल प्रालि र चित्लाङको चित्लाङ रिसोर्ट प्रालिले संयुक्त रुपमा क्वाड मोटरसाइकलको व्यवसायिक संचालन शुरु गरेको थियो । चित्लाङमा अहिले ५ वटा क्वाड संचालनमा रहेका छन् । चित्लाङ रिसोर्टबाट थाहा नगपालिका–९ चित्लाङ माझगाउँसम्मको कच्ची सडकको करिब ७ किलोमिटर खण्डलाई क्वाड संचालनको मार्ग तय गरिएको छ ।

चीनबाट प्रतिथान करिब रु. ११ लाख तिरेर भित्र्याइएको क्वाड संचालन गर्न स्थानीय वडा कार्यालयले अस्थायी अनुमति दिएको छ । नेपालमा क्वाड संचालन तथा नियमन गर्ने विषयमा कानूनी व्यवस्था नभएको र कार्यविधिसमेत नभएकोले हाल अस्थायी अनुमति लिएर कच्ची बाटोमा संचालन गरिएको संचालक नेपालले जानकारी दिनुभयो ।

क्वाड मोटरसाइकल विदेशमा खासगरी मरुभूमि, हिलो र सतह नमिलेको बाटोमा साहसिक यात्राको लागि प्रयोग गर्ने गरेको पाइन्छ । चित्लाङमा पनि क्वाड चढ्नेहरुले हिलो, चिप्लो र चट्टानी बाटोमा अझ रमाइलो हुने अनभव सुनाएका छन् । भक्तपुरबाट क्वाडको मज्जा लिन आउनु भएका रन्जित व्यञ्जनकारले तुषारो पग्लेर हिलाम्मे बाटोमा क्वाड चलाउँदा निकै रमाइलो अनुभव भएको सुनाउनु भयो ।

७ किलोमिटर क्वाड सफरका लागि रिसोर्टले पर्यटकहरुसँग रु. तीन हजार लिने गरेको छ । सफरअघि रिसोर्टले केही समय आवश्यक निर्देशनहरु दिनुका साथै परीक्षणसमेत गराउने गरेको छ । पर्यटक क्वाड यात्राका लागि निस्केपछि रिसोर्टले कर्मचारीमार्फत् अनुगमनसमेत गर्ने गरेको छ । यीं कामको लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ ।

चित्लाङ धार्मिक, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये मानिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता रच्नु भएको गुर्जुधारासहित लिच्छविकालीन ढुंगेधारा, पाटी, पौवा, धर्मशाला, नेपालकै पहिलो बाख्राको चिज, ऐतिहासिक झरना, चैत्य, चिःवहा आदिले चित्लाङ पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलको रुपमा रहेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *