चिनियाँ निर्माण कम्पनीले सुरु गर्यो नारायणगढ बुटवल सडकखण्डको काम
चितवन । बर्खा सुरु भएसँगै रोकिएको नारायणगढ बुटबल सडकखण्डको काम चिनियाँ ठेकदारले सुरु गरेको छ । ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले एक हप्ता अगाडि केही कामदारलाई पुल, रिटेन्सनवाल लगायतका सामान्य काम गर्न लगाएको छ ।
११३ किलोमिटर लामो यो सडकखण्डलाई चाडै काम सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग अलग ठेक्का लगाइएको थियो । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले नै पाएको थियो । गैंडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्ड (६४.४२किलोमिटर) को आयोजना प्रमुख अनुक्षा घिमिरेले केही सानो संख्यामा कामदार झारेर काम थालेको जनाउ मात्रै निर्माण कम्पनीले दिएको बताइन् ।
ठेकेदार कम्पनीले आगामी एक सातामा पूर्ण रुपमा काम थाल्छु भनेर जानकारी गराएको आयोजना प्रमुख घिमिरेको भनाइ छ ।
पूर्वी खण्डको भौतिक प्रगति ५३ प्रतिशतको हाराहारीमा छ । ठेकेदार कम्पनीले केही साता अगाडि मात्रै ३५ करोड जति रकम आएको र डिसेम्बर महिनामा रकम आउने जनाएको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
गएको फेब्रुअरी मार्चमा ४ प्रतिशत काम गरेको ठेकेदार कम्पनीको अरु महिनामा भने १ प्रतिशत भन्दा पनि कम प्रगति भएको सूचना अधिकारी खनालले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरे ठेक्का तोडेर भए पनि जानुपर्ने बताएपछि सडक विभागले ठेक्का तोड्न सक्ने आशयको जानकारी दिइसकेको सूचना अधिकारी खनालले बताए । ‘यति लामो सडकखण्डको महिनामा १ प्रतिशतभन्दा पनि कम काम गरेर कहिले बन्छ भन्ने प्रश्न उब्जिएको छ,’ सूचना अधिकारी खनालले भने, ‘डिसेम्बरसम्म पनि कामको प्रगति सन्तोषजनक नभए विभागले एउटा निर्णय लिन्छ जस्तो लाग्छ’, गैंडाकोट–दाउन्ने सडकखण्ड विस्तारको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रहेको छ ।
पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल (४८.५८ किलोमिटर) सडक विस्तारको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।
पश्चिमखण्डमा असार पछि नै काम ठप्प भएको र एक हप्ता अगाडिबाट सामान्य काम सुरु भएको आयोजना प्रमुख शशांक मिश्रले बताए ।
बुटबलदेखि बर्दघाटसम्म एकतर्फी सडकको काम ७० प्रतिशत सक्ने लक्ष्य राखिए पनि त्यो पूरा हुने अवस्था नरहेको उनको भनाइ छ । अहिले ४० जना जति कामदारलाई सडक विस्तारको काममा ठेकेदारले लगाएको आयोजना प्रमुख मिश्रले बताए । ‘हिजो पनि ठेकेदार कम्पनीका मान्छे म कहाँ आएका थिए, उनीहरुले हाम्रो पैसा आउन थाल्यो, अब काम गछौं, पहिलाको जस्तो अवस्था छैन भन्दै थिए’, आयोजना प्रमुख मिश्रले भने, ‘पाटीहरुलाई पेमेन्ट गरेर सामान पनि सप्लाई गर्न थाले भनेर जानकारी गराए ।’ पश्चिमखण्डको प्रगति ५२.५७ प्रतिशत मात्रै छ ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ चैत ८ गते भएको थियो । सडक विस्तारको काम सक्ने समय २०७९ साउन २२ गते थियो । सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ तर काम भने आधा नै बाँकी छ ।