जोमसोम–कागबेनी सडक कालोपत्रे

जोमसोम–कागबेनी सडक कालोपत्रे

जोमसोम : जोमसोम—उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) राजमार्ग सडकअन्तर्गत जोमसोमदेखि कागबेनी ११ किमि सडकखण्ड कालोपत्रे गरिने भएको छ। तीन वर्षअघि निर्माण सुरु गरिएको जोमसोम–कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भई करिडोरलाई गत वर्ष नै हस्तान्तरण भइसकेको छ। जोमसोम–कोरला सडकको ३ प्याकेजको काम सम्पन्न हुन बाँकी छ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले करिडोर सडकलाई हस्तान्तरण भइसकेको जोमसोम–कागबेनी ११ किमि सडकको कालोपत्रे गर्न ५८ करोड बजेट विनियोजन भएको करिडोर सडकका सूचना अधिकारी इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए।
यसअघि करिडोरले जोमसोम—कोरला खण्डको जोमसोम–चैलेसम्म कालोपत्रेका लागि मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। तर, अर्थ मन्त्रालय उक्त प्रस्ताव अस्वीकृत गरेको थियो। दोस्रो प्रस्तावमा जोमसोम–कागबेनी कालोपत्रेका लागि बजेट माग गरिएकोमा स्वीकृत भएको हो।

निर्माण सम्पन्न जोमसोम–कागबेनी ग्राभेल सडकमा कालोपत्रे स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट पास गरेको हो। अब उक्त सडकको कालोपत्रे गर्न स्टिमेट तयार गरी विभागबाट स्वीकृत गरी टेन्डर आह्वान हुने करिडोरले जनाएको छ।

करिडोरले यसै महिनाभित्र टेन्डर आह्वान गर्ने र यसको अवधि ३ महिना रहनेछ। करिडोरका इन्जिनियर यादवले सबै प्रक्रिया सकेर आगामी आर्थिक वर्षको सुरुआतमै कालोपत्रेको काम सुरु हुने जनाए। उनले आगामी दसैंभित्र जोमसोम—कागबेनी सडक कालोपत्रे सम्पन्न हुने उल्लेख गरे।

राष्ट्रिय गौरवको ७६ किमि बेनी—जोमसोम सडकखण्डको प्याकेज ३ र ४ को कालोपत्रे बिछ्याउने कार्य वैशाखदेखि सुरु हुने करिडोरले जनाएको छ। २०७४ सालदेखि सुरु भएको जोमसोम—कोरला सडकको काम ६० प्रतिशत सकिएको हो। त्यसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ—३ लेतेदेखि कोवाङसम्म र सप्तकोसी जलाधार जेभीले थासाङ—२ कोवाङदेखि जोमसोमसम्म कालोपत्रेको तयारी गरेको हो। सो सडकमा कालोपत्रे गर्ने तयारी रहे पनि कोरोना माहामारी तथा हिँउदयामको चिसोका कारण कालोपत्रे बिछ्याउन काम अघि बढेको थिएन। त्यहाँ निर्माण कम्पनीले कालोपत्रेका लागि केही उपकरण ल्याउन बाँकी छ भने आवश्यक गिट्टी, बालुवा र बिटुामिनसमेत तयारी अवस्थामा राखेको छ।

यस्तै हिमाली जिल्ला मुस्ताङमा ४ वर्षअघि पहिलो पटक कागबेनी—मुक्तिनाथ सडक कालोपत्रे गरिएको थियो। त्यस समय साबिक स्थानीय विकास मन्त्रालयमार्फत ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना (त्रिपल)ले कालोपत्रे बिछ्याउने काम गरेको थियो। कालोपत्रे बिछ्याउने काम सम्पन्न भए जोमसोम—मुक्तिनाथ यात्रा सहज हुने जनाइएको छ।

यो समाचार अन्नपुर्ण पोस्ट डट कमबाट साभार गरिएको हो । यसलाई अन्नपुर्ण पोस्ट डट कममा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

http://annapurnapost.com/news/177342

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *