डन्डीको मूल्य १३ रुपैयाँसम्म घट्यो

डन्डीको मूल्य १३ रुपैयाँसम्म घट्यो

काठमाडौं । निर्माण सामग्री डण्डी र स्टिलको अत्यधिक मूल्यवृद्धि गरेका उद्योगीहरूले थोरै मूल्य भएपनि घटाउन थालेका छन् । पछिल्लो समय उद्योगीले बिनाकारण मूल्य बढाएको भन्दै यससँग सम्बन्धित विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । त्यसँगै उद्योगीहरूले केही मात्रामा भएपनि मूल्य घटाएको हो ।

उद्योग मन्त्रालयको मातहतमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार डण्डी उद्योगीहरूले मूल्य घटाएको जनाएको छ । देशभर दर्जभन्दा बढी स्टिल तथा डन्डी उद्योगी छन् । त्यसमध्ये केही उद्योगले मूल्य घटाएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।

बजारमा अत्यधिक मूल्य बढेको भन्दै विभागले विशेष अनुगमन गरेको थियो । सोही अनुसार कृत्रिम हो वा अन्य कुनै कारण हो भन्ने विषयमा अध्ययन गरी मूल्य घटाउन सफल भएको विभागको दावी छ ।

विभाग अनुसार देशभर रहेका सबै उद्योगले मूल्य नघटाए केही उद्योगीहरूले ४ रुपैयाँदेखि १३ रुपैयाँसम्म मूल्य घटाएको छ । जसमा पहिलो पटकमा लक्ष्मी स्टिल र श्री स्टिलले विगतको दिनमा प्रतिकेजी ८१ रुपैयाँमा बिक्री गरिरहेको स्टिलको मू्ल्य ४ रुपैयाँ घटाएर ७७ रुपैयाँमा कायम भएको विभागले जनाएको छ ।

त्यसैगरी, मोरङको हुलास वायर इ। लिमिटेडले दशैंपश्चात प्रति केजी ८० रुपैयाँमा डन्डी बिक्री गरिरहेका थिए । तर, अहिले ८ रुपैयाँ मूल्य घटाएर नयाँ मूल्य कायम गरेको विभागले जनाएको छ ।

त्यस्तै, मोरङ जिल्लामै रहेको कमला रोलिङ मिल्स प्रालिले एक महिनाको समय अवधिमा फलामे छडको मूल्यमा मोटाइ अनुसार प्रतिकेजी ११ रुपैयाँदेखि १३ रुपैयाँसम्म मूल्य बढाएको जनाएको छ । विभागले मोटाइ अनुसार हालको प्रतिकेजी मूल्य ७२ र ६९ रुपैयाँ मूल्य तोकेको जनाएको छ ।

तर, अझै केही उद्योगीहरूले मूल्य नघटाएकाले त्यस विषयमा अनुगमन तथा अध्ययन तीब्र रुपमा भइरहेको प्रवक्ता सेढाईको भनाइ छ । क्लिकमाण्डुबाट

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *