थपिए १६ अर्ब लगानीका आठ ठूला डन्डी उद्योग

थपिए १६ अर्ब लगानीका आठ ठूला डन्डी उद्योग

नविन अर्याल

साढे ३ अर्ब लगानीमा बाँकेको गनापुरमा भर्खरै सञ्चालनमा आएको अम्बे समूहको डन्डी उद्योगबाट दैनिक १ हजार मेट्रिकटन डन्डी उत्पादन हुन्छ । यही समूहको भैरहवाको उद्योगबाट अम्बे ब्रान्डमा दैनिक ५ सय मेट्रिकटन डन्डी उत्पादन हुँदै आएको अम्बे ग्रुपका सञ्चालक हरि न्यौपानेले बताए । उनी भन्छन्, ‘एउटै ब्रान्डबाट यति ठूलो भोल्युममा डन्डी उत्पादन गर्ने अम्बे पहिलो कम्पनी बनेको छ ।’

सारडा र राठी समूह मिलेर गत वर्ष मोरङमा १ अर्ब लगानीमा प्रिमियर स्टिल उद्योग सञ्चालनमा ल्याएका छन् । सौरभ समूहले आगामी वैशाखदेखि सर्वोत्तम ब्रान्डमा बिलेट र डन्डी बजारमा ल्याउँदै छ । ३ अर्ब लगानी रहेको सर्वोत्तम स्टिल उद्योगबाट वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी उत्पादन हुनेछ ।

पछिल्लो अढाई वर्षमा मात्र ठूलो लगानीमा ८ वटा डन्डी उद्योग थपिएका छन् । नयाँ खुलेका डन्डी उद्योगमा १६ अर्बभन्दा बढी लगानी भएको नेपाल स्टिल तथा रोलिङ मिल एसोसिएसनका महासचिव हरि न्यौपानेले बताए । सर्वोत्तमलगायत तीन ठूला नयाँ डन्डी उद्योग सञ्चालनको तयारीमा छन् ।

भूकम्पपछि केही पुराना स्थापित डन्डी उद्योगहरूले पनि लगानी थपेर क्षमता विस्तार गरेका छन् । अहिले साना–ठूला गरी नेपालमा २५ डन्डी उद्योग सञ्चालनमा रहेको  एसोसिएसनका उपाध्यक्ष किरण साखः बताउँछन् । अहिले ठूलो क्षमताका डन्डी उद्योग नै डेढ दर्जन पुगिसकेको बताइन्छ ।

भैरहवाको सिद्धार्थ ग्रुपले साझेदारीमा रुपन्देहीको धकधकीमा श्री स्टिल उद्योग सञ्चालनमा ल्याएको छ । २ अर्ब लगानीमा खुलेको उद्योगको दैनिक ९ सय मेट्रिकटन उत्पादन क्षमता रहेको सञ्चालक राजेश अग्रवाल बताउँछन् । लक्ष्मी ग्रुपले पनि २ अर्ब लगानी गरेर भैरहवामै सिद्धिलक्ष्मी स्टिल उद्योग सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय सिद्धिलक्ष्मी स्टिल, आरती स्टिल, प्रिमियर स्टिल, विजय स्टिल, जय अम्बे स्टिल, श्री स्टिल, गोदावरी स्टिल, नारायणी स्टिल सञ्चालनमा आएका छन् । यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता झन्डै १५ लाख टन हाराहारी रहेको शंकर समूहका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द नेपाल बताउँछन् । चालू अवस्थामा रहेका साना–ठूला डन्डी उद्योगको जडित उत्पादन क्षमता वार्षिक ३० लाख मेट्रिकटन छ । तर, सामान्य समयमा डन्डीको माग वार्षिक १४ लाख मेट्रिकटन मात्र रहेको साखः बताउँछन् । कोभिड महामारीका कारण विकास निर्माणको काम ठप्प हुँदा बजार माग अझ घटेको उनको भनाइ छ ।

 भूकम्पपछि ओइरियो लगानी 
अहिले बजारको मागभन्दा उत्पादन क्षमता दोब्बर पुगेको उद्योगीहरू बताउँछन् । भूकम्पपछि डन्डी उद्योगमा लगानीको बहार आएको साखः स्टिलका सञ्चालकसमेत रहेका किरण साखः बताउँछन् । ‘भूकम्प र नाकाबन्दीपछि डन्डीको माग बढेको देखेर ठूलो लगानी ओइरिएको छ,’ उनी भन्छन्, ‘बजार अध्ययन नगरी लगानी ओइरिँदा डन्डीमा अस्वस्थ प्रतिस्पर्धा चुलिँदै गएको छ ।’ व्यवसायीका अनुसार भूकम्प र नाकाबन्दीपछि डन्डीको माग झन्डै ७० प्रतिशतसम्म बढेको थियो । जबकि भूकम्पअघि यस्तो वृद्धिदर ६–७ प्रतिशत मात्र हुन्थ्यो ।  

 यस कारण बढ्यो लगानी 
भूकम्पलगत्तै सरकारले करिब एक वर्ष घर तथा भवनको नक्सा पास रोक्यो । त्यसमाथि भारतीय नाकाबन्दी थपिँदा ठूला विकास निर्माणका कामहरू पनि ठप्प भए । सरकारले नयाँ भवन निर्माण मापदण्ड बनाएर नक्सा पास खुला गरेपछि घर बनाउनेहरू ह्वात्तै बढे ।

भूकम्पले भत्किएका घरदेखि भौतिक संरचनाको पुनर्निर्माण पनि सुरु भयो । रोकिएका ठूला प्रोजेक्टका काम पनि अगाडि बढ्न थाले । ‘यसरी एक वर्ष नक्सा पास रोकेर खोलिदिँदा बाढी थुनेर बाँध खुला गरेजस्तै भयो,’ साखः भन्छन्, ‘एकैपटक धेरै घरहरू निर्माण सुरु भएपछि बजारमा डन्डीको माग ह्वात्तै बढेको थियो ।’ 

त्यसताका सञ्चालनमा रहेका उद्योगहरूले डन्डीको बढ्दो बजार माग धान्न सकेका थिएनन् । भारतबाट डन्डी आयात गर्नुपर्ने अवस्था आयो । यो देखेर सञ्चालनमा रहेका उद्योगहरूले क्षमता विस्तार गर्न थाले । तर, पछिल्लो समय माग बढ्न नसकेको पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुव श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘डन्डी उद्योग थपिए पनि माग बढ्न सकेको छैन । अहिले डन्डी उद्योगको उत्पादन क्षमता आधा पनि उपयोग हुन नसकेको अवस्था छ ।’

सारडा ग्रुपका निर्देशक पवनकुमार सारडा भूकम्पछि बढ्दो माग देखेरै डन्डी उत्पादन गर्न कस्सिएको बताउँछन् । भारतीय बहुराष्ट्रिय कम्पनी भूषण ग्रुपले पनि विराटनगरमा डन्डी उत्पादन सुरु गरेको छ । यो समूहले पनि आरती स्टिलमा झन्डै ३ अर्ब लगानी गरेको छ । भूषण ग्रुपको विराटनगरको आरती स्ट्रिप्समा लगानी छ । तर, पछिल्लो समय उत्पादन बिक्री नभएपछि यो समूह उद्योग बन्द गर्ने मनस्थितिमा पुगेको बताइन्छ । 

शंकर समूहको जगदम्बा स्टिलले पनि भूकम्पपछि उद्योगको क्षमता विस्तार गरिसकेको छ । अहिले जगदम्बा स्टिल उद्योगबाट दैनिक २२–२३ सय मेट्रिकटन डन्डी तथा फलामजन्य अन्य वस्तुहरू उत्पादन भइरहेको समूहका सिइओ नेपालले जानकारी दिए ।

यो समूहले साधारण डन्डी ‘जगदम्बा’ र प्रिमियममा ‘राइनो ५०० डी’ ब्रान्डबाट डन्डी उत्पादन गर्दै आइरहेको छ । जगदम्बाले टिएमटी डन्डीदेखि वायर, एमएस सिट, किला, काँटीलगायत फलामजन्य धेरै प्रकारका वस्तुहरू उत्पादन गर्छ । ‘फलामजन्य वस्तु उत्पादनमा सबैभन्दा बढी विविधीकरण गर्ने जगदम्बा हो,’ उनी थप्छन् । जगदम्बाले वार्षिक १० लाख टन डन्डी उत्पादन गर्ने गरी लगानी बढाउने योजना बनाएको थियो । तर, अहिले डन्डीको बजार नबढेपछि तत्कालका लागि पछाडि हटेको छ । 

अहिले भैरहवा, बुटवल, कपिलवस्तु र पश्चिम नवलपरासी क्षेत्र, वीरगन्ज करिडोर, नेपालगन्जमा डन्डी उद्योग खुलिरहेका छन् । भूकम्पअघि खुलेका डन्डी उद्योग हिमाल स्टिल, हुलास स्टिल, अशोक स्टिल, जगदम्बा स्टिल, लक्ष्मी स्टिल, काठमाडौं स्टिल, अम्बे स्टिल, गोयन्का स्टिल, बागेश्वरी स्टिल, एभरेस्ट स्टिल, हामा स्टिल, पञ्चकन्या स्टिल, पशुपति स्टिल, एसआर स्टिल, साखः स्टिल, सालिमार स्टिल, मारुती नन्दन स्टिल, भगवती स्टिल, कमला स्टिल, फेरोस्टिललगायत हुन् । 

 स्पन्ज आइरन बनाउने उद्योगहरू
नेपालमा धेरै उद्योगहरूले भारतबाट बिलेट ल्याएर डन्डी उत्पादन गर्छन् । शंकर समूहका सिइओ नेपालका अनुसार स्पन्ज आइरन गलाएर बिलेट बनाइन्छ र सोही बिलेटबाट डन्डी उत्पादन गरिन्छ । खानीबाट निस्केको कच्चा फलाम प्रोसेसिङ गरेर स्पन्ज आइरन बनाइन्छ । अम्बे स्टिल, अशोक स्टिल, लक्ष्मी स्टिल, पशुपति आइरन उद्योगले बिलेट पनि उत्पादन गर्छन् ।

सर्वोत्तम स्टिलले वैशाखदेखि बिलेट उत्पादन गर्ने तयारी गरेको छ । लक्ष्मी स्टिलले वार्षिक १ लाख २० हजार टन डन्डी उत्पादन गर्छ । लक्ष्मी स्टिलका सञ्चालक विष्णु न्यौपाने भन्छन्, ‘उद्योगलाई चाहिने ६० हजार टन बिलेट आफँै उत्पादन गर्छौँ र ६० हजार टन बिलेट आयात गर्छौँ ।’ जगदम्बाले डन्डी बनाउन बिलेट भारतबाट आयात गरे पनि फलामजन्य अरू सामग्री निर्माणका लागि आफैँ बिलेट बनाउँछ ।

सौरभ समूहले बाराको परवानीपुरमा बनाइरहेको उद्योगबाट वैशाखदेखि सर्वोत्तम ब्रान्डमा बिलेट र डन्डी उत्पादन गर्दै छ । सर्वोत्तम स्टिलको जडित क्षमता वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी उत्पादन हो । यो समूहले १ लाख टन बिलेट आफ्नै उद्योगमा खपत हुन्छ भने २ लाख टन बिलेट अरू उद्योगलाई बिक्री गर्ने योजना छ ।

‘उद्योग पूर्ण क्षमतामा चलाउन ४० मेगावाट विद्युत् आवश्यक पर्छ, जसमध्ये २५ मेगावाट विद्युत् प्राधिकरणबाट स्वीकृति भइसकेको छ,’ उनी भन्छन्, ‘२५ मेगावाटले वार्षिक २ लाख टन मात्र बिलेट बनाउन सकिन्छ, थप १५ मेगावाट विद्युत् पाउनेबित्तिकै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।’ बिलेटको आयात घटाउने उद्देश्य राखेर ठूलो क्षमताको उद्योग सञ्चालन गर्न लागेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १३ अर्ब ३४ करोड ३८ लाख रुपैयाँबराबरको एमएस बिलेट आयात भएको छ ।

 विगतको दुर्दशा
सारडा ग्रुप दुई दशकपछि पुनः डन्डी बजारमा छिरेको हो । यो समूहले ०३५ सालमा मुरारका ग्रुप लगायतसँगको साझेदारीमा मोरङमा एभरेस्ट आइरन उद्योग सञ्चालनमा ल्याएको थियो । जुन मुलुककै दोस्रो डन्डी उद्योग थियो । पवनकुमार सारडाका अनुसार विविध कारणले एभरेस्ट आइरन बन्द भएपछि ०३८ सालमा मोरङमै हेटौँडा आइरन उद्योग सञ्चालनमा आयो । बजारमा तीव्र उतारचढाव र अस्वस्थ प्रतिस्पर्धाले उनका दुईवटै उद्योग बन्द गर्नुपर्‍यो । 

‘ती उद्योग बन्द भइसकेको पनि २० वर्ष नाघिसक्यो,’ उनी सुनाउँछन्, ‘बजार सानो, तर लगानी बढी भइदियो ।’ मुरारका समूहले एभरेस्ट आइरनबाट बाहिरिएर सुनसरीमा खोलेको पशुपति आइरन उद्योग अहिले पनि सञ्चालनमा छ । अढाई दशकअघि मोरङ–सुनसरी औद्योगिक करिडोरमा धेरै डन्डी उद्योग सञ्चालनमा आएका थिए । त्यसवेलाको प्रतिस्पर्धामा आधा दर्जनजति डन्डी उद्योगले अस्तित्व जोगाउन सकेका छन् । अहिले पनि त्यही अवस्था आउने चिन्ता डन्डी व्यवसायीमा देखिन थालेको साखः बताउँछन् । 

 डन्डी उद्योगको इतिहास
नेपालमा डन्डी उद्योगको इतिहास ६ दशक पुगिसक्यो । बाराको परवानीपुरमा खुलेको हिमाल आइरन मुलुकको पहिलो डन्डी उद्योग हो । ज्योति परिवारले सञ्चालनमा ल्याएको हिमाल स्टिलले घर तथा भवन निर्माणमा डन्डीको प्रयोग गर्न सिकाएको हो । त्यसअघि भारतबाट डन्डी आयात गरिन्थ्यो ।

मणिहर्ष ज्योतिले पानीजहाज चलाउने पाँच सय हर्सपावरको जेनेरेटर ल्याएर हिमाल आइरन सञ्चालन गरेका थिए । यो उद्योग २०१८ सालमा दर्ता भएको हो । त्यसताका स्वचालित मेसिन हुँदा भट्टीमा डन्डी हाल्ने र चिम्टाले निकाल्ने गर्नुपथ्र्यो । सुरुमा बुट्टा नभएको सापट डन्डी उत्पादन हुन्थ्यो । पछि टरिस्टिल हुँदै टिएमटी प्रविधिबाट डन्डी उत्पादन हुन थाल्यो । हिमाल आइरनले जग बसालेपछि एभरेस्ट आइरन, हेटौँडा आइरन, पशुपति आइरन, कमला आइरन, पञ्चकन्यालगायत डन्डी उद्योगहरू खुल्दै गए । 

डन्डीको बजारमा शिथिलता
पछिल्लो एक वर्षदेखि मुलुकले कोभिड महामारी व्यहोर्नुपर्दा विकास निर्माणका कामहरू ठप्पप्रायः छन् । निर्माणमा सुस्तता आउँदा डन्डीको माग पनि बढ्न सकेको छैन । नवप्रवेशी उद्योगलाई सञ्चालन खर्च धान्न धौ–धौ पर्ने अवस्था छ । बजारमा माग र अपूर्तिको रेसियो नमिल्दा डन्डी उद्योग संकटमा परेको साखः बताउँछन् ।

‘सामान्य अवस्थामै डन्डी उद्योग पूर्ण क्षमतामा चल्ने अवस्था छैन,’ उनी भन्छन्, ‘कोभिडपछि डन्डी उद्योग ३५–४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका होलान् ।’ डन्डी उद्योगमा बैंकको ठूलो लगानी छ । नेपाल राष्ट्र बैंकका अनुसार फलामजन्य उद्योगहरूमा कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको ९८ अर्ब ९८ करोड ४५ लाख ऋण प्रवाह भएको छ । साखः भन्छन्, ‘यदि केही गरी ठूला ४–५ डन्डी उद्योग मात्र बन्द भए भने व्यवसायी, बैंक र देशकै लागि घाटा हुन्छ ।’

भूकम्पपछि दर्ता भएका डन्डी उद्योग
 श्री स्टिल्स प्रालि
स्थान    : रुपन्देही, धकधई
कुल पुँजी    : १ अर्ब ८० करोड
रोजगारी    : १९७ जना
 प्रिमियर स्टिल प्रालि
स्थान    : सुनसरी, दुहबी
कुल पुँजी    : २४ करोड ९० लाख 
रोजगारी    : २०८ जना
 शैलुङ एन्ड एसएमई स्टिल प्रालि
स्थान    : नवलपरासी, कावासोती
कुल पुँजी    : २४ करोड
रोजगारी    : ११० जना
 नारायणी स्पात प्रालि
स्थान    : बारा, भवानीपुर जितपुर
कुल पुँजी    : ८२ करोड
रोजगारी    : २१० जना
 विजया आइरन एन्ड स्टिल प्रालि
स्थान    : कपिलवस्तु, शिवगढी
कुल पुँजी    : २ अर्ब ४० करोड
रोजगारी    : ३३७ जना
 सर्वोत्तम स्टिल्स प्रालि
स्थान    : पर्सा, वीरगन्ज महानगरपालिका
कुल पुँजी    : ३ अर्ब २७ करोड ८५ लाख
रोजगारी    : ३३७ जना
 जय अम्बे स्टिल्स प्रालि
स्थान    : बाँके, खजुराखुर्द
कुल पुँजी    : ४ अर्ब १५ करोड
रोजगारी    : ३३०
 हिमाल असिम स्टिल प्रालि
स्थान    : पर्सा, वीरगन्ज महानगरपालिका
कुल पुँजी    : ४ अर्ब ९४ करोड ४० लाख
रोजगारी    : ५५० जना

यो समाचार नयाँपत्रिका डेलीबाट साभार गरिएको हो । यो समाचार नयाँपत्रिका डेलीमा पढनको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *