थाहा नगरपालिकामा ६ महिनामा २४ प्रतिशत खर्च

थाहा नगरपालिकामा ६ महिनामा २४ प्रतिशत खर्च

कार्यसम्पादन मूल्याङ्कनमा लगातार दुई वर्ष जिल्लामै उत्कृष्ट ठहरिएको मकवानपुरको थाहा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २४ प्रतिशतमात्र खर्च गरेको छ । सातौं नगरसभाले छनोट गरेका योजनाहरुको हालसम्म २५ प्रतिशतमात्र काम सकिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो ।

बजेट अधिवेशनबाट हिउँदे अधिवेशनसम्म पुग्दा ६ महिनाको अवधिमा एक चौथाई मात्र काम हुनुले यस वर्ष कार्यतालिकाअनुसार नगरपालिकाले काम गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को आधा अवधि सकिँदा राष्ट्रिय आँकडामा १४.१ प्रतिशत पूँजीगत खर्च भएको छ । थाहा नगरपालिकाको यो अवधिको खर्च राष्ट्रिय आँकडाभन्दा बढी देखिए पनि सन्तोषजनक नभएको स्वयम् जनप्रतिनिधिहरु स्वीकार्छन् ।

थाहा नगरकार्यपालिकाले नगरसभाबाट पारित सम्पूर्ण योजनाहरु चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सक्नेगरी योजना बनाएको थियो । फागुन आउन अब एक महिनामात्र बाँकी रहँदा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नुपर्नेमा विविध कारण त्यसो हुन नसकेको थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताउनु भयो ।

गत आर्थिक वर्ष २०७६/०७७ को यो अवधिमा थाहा नगरपालिकाले ३८ प्रतिशत खर्च गरेको थियो । यस वर्षको यो अवधिमा चालुतर्फ रु. २ करोड ८० लाख ५८ हजार र पुँजीगततर्फ रु. १८ करोड ४९ लाख ६७ हजार गरी कूल रु. २१ करोड ३० लाख २५ हजार खर्च भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयो ।

थाहा नगरपालिकाले नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु. ८९ करोड ३१ लाख २८ हजारको बजेट पारित गरेको थियो । चालुतर्फ भने नगरपालिकाले ३१.७१ प्रतिशत खर्च गरेको छ । नगरपालिकामा चालुतर्फ रु. ८ करोड ८४ लाख ६७ हजार विनियोजन गरिएको थियो ।

बजेट यथावत
कोभिड–१९ का कारण आन्तरिक आय घट्न सक्ने र केन्द्रीय बजेटसमेत घट्न सक्ने कारण देखाउँदै चालु आर्थिक वर्षको बजेटमा थाहा नगरपालिकाले कुनै संशोधन गरेन । गत २०७७ साल असार १९ गते सातौं नगरसभाले पारित गरेको वजेटलाई आठौं नगरसभाले जस्ताको तस्तै पारित गरेको थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले जानकारी दिनुभयो ।

सातौं नगरसभाले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि कूल रु. ८९ करोड ३१ लाख २८ हजारको बजेट पारित गरेको थियो । उक्त बजेटलाई नगर उपप्रमुख खड्गबहादुर गोपालीले यथावत संशोधित बजेटको रुपमा आठौं नगरसभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा आन्तरिक आय २३ करोड ९० लाख ५५ हजार आम्दानी अनुमान गरिएको छ भने अन्य आम्दानीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, सशर्त अनुदान, राजश्व बाँडफाँड, संमपुरक अनुदान र विशेष अनुदानवापतको रकम समावेश गरिएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *