थोरै जग्गामा, कम खर्चमा बनाउन सकिने ४ प्रकारका घर

थोरै जग्गामा, कम खर्चमा बनाउन सकिने ४ प्रकारका घर

काठमाडौंमा जग्गा किनेर घर बनाउने रहर धेरैलाई छ। जग्गा महँगो भएकाले सानो ठाउँमा एक-दुई तले घर बनाउनेहरू नै थुप्रै हुन्छन्। तर अधिकांशलाई थोरै जग्गामा कस्तो, केको घर बनाउने होला भन्ने अलमलले सताइरहेको हुन्छ।

आज हामीले थोरै जग्गा र कम खर्चमा छिट्टै बनाउन सकिने र सिमेन्ट-बालुवाबाट बन्ने आरसिसीबाहेक वैकल्पिक घरबारे चर्चा गरेका छौं।

घर निर्माण तथा मर्मत सम्भार र परामर्शदाता कम्पनी ‘स्किल सेवा’का सह–संस्थापक तथा इञ्जिनियर महेश तिमल्सिनाले वैकल्पिक घर र यसमा प्रयोग हुने सामग्रीबारे हामीलाई जानकारी दिएका छन्।

आरसिसी घरको एकाधिकारः

घर भन्नासाथ ढुंगा-सिमेन्ट-बालुवाको मिश्रण घुमिरहेको हुन्छ। ढलान घर एक्लो विकल्प देखिए पनि इञ्जिनियरहरू यसलाई ुआउडेटेडु निर्माण शैली मान्न थालिसकेका छन्। तर यस्ता घरको लोकप्रियता घटेको छैन।

सर्वसुलभ उपलब्ध हुने ठेकदार, मिस्त्री, ज्यामी, निर्माण सामग्री तथा घर निर्माण सम्बन्धी सामान्य जानकारी आदिका कारण ढलान घरप्रति आकर्षण बढेको इञ्जिनियर तिमल्सिना बताउँछन्।

‘अस्ट्रेलिया, अमेरिकातिर विभिन्न विकल्प भएकाले आरसिसी घर विरलै बन्छन्। नेपालमा भने आरसिसी नै अनिवार्य र निर्विकल्प देखिएको छ,’ उनले भने।

आरसिसी घर बनाउन बैंकले ऋण दिन पनि सजिलै विश्वास गर्छन्। बलियो र रिसेल भ्यालुु राम्रो हुने मानिएकाले ढलान घर धेरैको रोजाइमा पर्छ। तर आरसिसी घर निर्माण महँगो विधि हो। यसरी घर बनाउन धेरै समय पनि लाग्छ। दुईरअढाइ तले घर बनाउने हो भने कम्तीमा ८–९ महिना लाग्छ।

‘अझै पनि कतिपयले घर बनाउन आफ्नो कामै छाडेर बस्नुपर्ने अवस्था छ। लामो बिदा लिनुपर्छ,’ तिमल्सिनाले भने, ‘दुई तले घर बनाउन कम्तीमा ८ महिना लाग्छ। बीचमा निर्माण सामग्री मूल्य तलमाथि भए अनुमानभन्दा बढी खर्च हुन जान्छ।’

आरसिसी घरलाई टक्कर दिने वैकल्पिक निर्माण सामग्री नेपालमा पनि चल्न थालेको छ।

प्रिफ्याब हाउजिङः

प्रिफ्याब अर्थात् प्रि-फेब्रिकेटेड बोर्डबाट बनेका घर। कम्पनीले उत्पादनकै क्रममा विभिन्न आकारमा बोर्ड कटिङ गरेर बजारमा पठाउँछन्। ग्राहकले आफूलाई आवश्यक पर्ने आकारअनुसार अर्डर गर्न सक्छन्। निर्माण सेवा प्रदायक कम्पनीले नापअनुसार सिधै जग्गामा जडान गरिदिन्छन्।

यस्ता बोर्डमध्ये पछिल्लो समय नेपालमा सिमेन्टका बोर्ड बढी चलनमा भएको तिमल्सिना बताउँछन्। उनका अनुसार प्रिफ्याबको बाहिरी र भित्री भित्तामा क्याल्सियम सिलिकेटका पाता हुन्छन्। बीचको भागमा बालुवा, सिमेन्ट र थर्मोकोल केमिकल हाली बलियो बनाइएको हुन्छ। यसलाई बुझ्ने भाषामा सिमेन्ट स्यान्डवीच बोर्ड भनिन्छ।

यसबाट निर्मित आवास भूकम्प प्रतिरोधी, वातावरणमैत्री हुने कम्पनीहरू दावी गर्छन्।

‘प्रिफ्याब संरचना परम्परागत इँटाको तुलनामा तीनदेखि चार गुणा हलुका हुन्छन्,’ तिमल्सिनाले भने, ‘कुनै पनि निर्माण सामग्री हलुका हुनुको अर्थ त्यसले खर्च कटौती गर्नु हो।’

व्यापारिक कम्प्लेक्सहरूमा यस्ता बोर्ड कोठा विभाजनका लागि प्रयोग गर्नाले भवनको भार कम हुन्छ। इञ्जिनियरिङ डिजाइन गर्दा ठूला संरचनामा चाहिने छडको परिमाण कम हुन्छ। अनि निर्माण लागत स्वतः घट्छ।

त्यस्तै आवासीय घरमा पनि यो प्रविधि उपयोगी मानिएको छ।

‘कुनै पनि निर्माण छिटो(छरितो सम्पन्न हुनु प्रिफ्याबको महत्वपूर्ण विशेषता हो,’ उनले भने, ‘सुरक्षाको कुरा चाहिँ यसको गुणस्तर र मोटाइमा भर पर्छ। ५० मिमिदेखि एक सय २० मिमि मोटाइसम्म पाइने हुँदा सम्झौता गर्नु पर्दैन।’

आवासीय घरका साथै सेल्टर होम, क्याम्प, गोदाम घर, अस्थायी अस्पताल, पुराना घरको माथिल्लो तला निर्माणमा प्रि–फ्याब बोर्ड ज्यादा उपयोगी हुने उनले जानकारी दिए।

एसवाइ प्यानलः

एसवाइ प्यानल प्रिफ्याब बोर्डजस्तै देखिने वैकल्पिक निर्माण सामग्री हो। एक तले घर वा भित्री पर्खाल विभाजन गर्न यो प्यानल बढी उपयोगी हुन्छ। प्यानलबाटै छिटो र सस्तो घर बनाउन पनि सकिन्छ।

‘प्यानल बनाउँदा थर्मोकोल प्रयोग गरिन्छ जसले थर्मल इन्सुलेसन प्रवाह गर्छ। यसले घरलाई चिसोमा न्यानो र गर्मीमा शीतल राख्न सहयोग गर्छ,’ इञ्जिनियर तिमल्सिनाले भने, ‘यसको बाहिरी सतहमा प्लास्टर र रङ लगाउन पर्दैन।’

यस्ता स– साना कुराले वैकल्पिक निर्माण सामग्रीको महत्व बढाइरहेको छ। अग्ला भवनमा विभाजनका लागि यो प्यानल प्रयोग गर्दा घरको सम्पूर्ण भार कम हुन्छ। अन्य निर्माण सामग्री डन्डी, सिमेन्ट, बालुवा, रङ आदि एकदमै कम लाग्ने तिमल्सिनाले जानकारी दिए।

यो प्यानलबाट बनेको संरचना सजिलै अर्को स्थानमा सार्न पनि सकिन्छ।

एएसी ब्लकः

एएसी (अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक) इँटाको विकल्प हो। यस्तो ब्लक सिमेन्ट, आलुमिनियम धातुको धूलो, चुना, बालुवा लगायतको मिश्रणबाट बनेको हुन्छ। बालुवा र पानीको मिश्रण सिमेन्ट र चुनासँग मिसाएपछि आलुमिनियमको धूलो हालिन्छ। यी सबै पदार्थको घोल ब्लक बनाउने फ्रेममा हालेर नियन्त्रित तापक्रममा राखेर बनाइन्छ।

पछिल्लो समय एएसीको चलन बढेको तिमिल्सिना बताउँछन्। मुख्यगरी अग्ला र व्यावसायिक निर्माणमा यसको चल्ती छ। इँटाभन्दा हलुका र थोरै संख्यामा लाग्ने भएकाले समय र खर्च दुवै जोगिने उनको भनाइ छ।

‘श्रम खर्च, प्लास्टर खर्च आदि कम गर्न सकिन्छ,’ उनले भने।

आरसिसी घरमा विभाजन र बाहिरी भित्ताहरूमै एएसी ब्लक प्रयोग गर्न सकिन्छ। चार इन्च, छ इन्च र आठ इन्च चौडाइमा यस्ता ब्लक पाइन्छन्। परम्परागत इँटासँग तुलना गर्दा निर्माणमा १५ देखि २० प्रतिशतसम्म खर्च कम गर्न सकिने उत्पादकहरू बताउँछन्।

‘एएसी ब्लक पूरै घरको विकल्प होइन,’ उनले भने, ‘तर घर निर्माणका अन्य विकल्पमा यो फाइदाजनक देखिएको छ।’

आरसिसीको सट्टामा स्टिल संरचना राखी एएसी ब्लकको दुई तलासम्म घर बनाउन सकिन्छ। विभाजनमा भने जति पनि प्रयोग गर्न सकिन्छ।

इन्टरलकिङ ब्रिक (इँटा)

यो परम्परागत इँटाको विकल्पमा तयार पारिएको इँटा हो। विशेषगरी भूकम्पपछि नेपालमा यो इँटाको उपयोगिता बढेको छ। तिमल्सिनाका अनुसार यस्ता इँटाको बीचमा प्वाल हुन्छ। यो प्वालमा ६ मिमि फलामे तार प्रयोग गरिएको हुन्छ। जसले गर्दा इँटाहरू एकअर्कामा लक हुन्छन्।

यो प्रविधिलाई सरकारले मान्यता दिएको छ। निर्माणस्थलमै बसेर स्थानीयले उत्पादन गर्न सक्ने भएकाले ग्रामिण भेगमा लोकप्रिय हुँदै गएको हो।

‘ग्रामिण भेगका स–साना भुइँतले घर बनाउन यो इँटा उपयुक्त छ,’ उनले भने, ‘एकअर्कामा लक हुने भएकाले एकतले घर बनाउन पिलर उठाउनु पर्दैन।’

सिमेन्ट, बालुवा र माटोको मिश्रण मेसिनमा रोखर यो इँटा तयार पारिन्छ। तयार पारेको २१ दिनपछि प्रयोग गर्न सकिने तिमल्सिनाले जानकारी दिए।

माथि चर्चा गरिएका विकल्पमध्ये प्रिफ्याब र एसवाइ प्यानल बोर्ड पूरै घरको विकल्प हो भने एएसी ब्लक र इन्टरलकिङ ब्रिक परम्परागत इँटाको विकल्प हो। प्रिफ्याब र एसवाइ प्यानललाई स्टिलको फ्रेम आवश्यकता पर्छ भने एएसी र इन्टरलकिङ, स्टिल र आरसिसी दुवै फ्रेममा प्रयोग गर्न सकिन्छ।

पछिल्लो समय खर्च हिसाबले स्टिल संरचना लोकप्रिय हुँदै गइरहेको तिमल्सिनाले जानकारी दिए।

‘वैकल्पिक निर्माण सामग्रीमा ६० देखि ७० प्रतिशत पुनः प्रयोग योग्य हुन्छ,’ उनले भने, ‘प्रिफ्याब र एसवाइ प्यानलमा यो प्रतिशत अझै बढ्छ।’

माथि उल्लेखित निर्माण सामग्रीका राम्रा पक्ष भए पनि धेरै चलनमा छैन। एक त वैकल्पिक निर्माण सामग्रीबारे जानकारी कम छ। ढलान गरेको घर बलियो, सुरक्षित हुने विश्वास छ। साथै उत्पादक कम्पनीले उपभोक्तालाई विश्वास दिलाउन सकेका छैनन्।

‘यिनै कारण हामीकहाँ वैकल्पिक प्रविधिले स्थान लिन सकेको छैन,’ उनले भने, ‘निर्माण क्रममा हुने दक्ष जनशक्ति अभाव, निर्माणपछिको मर्मतसम्भार समस्याले अझ झन्झटिलो पारेको छ।’

प्रशासनिक जटिलताबारे उनले खुलाए, ‘नगरपालिकामा नक्सा पास गर्दा आउने कठिनाइदेखि घरजग्गा धितो राख्दा आउने समस्याले यसतर्फ आकर्षण कम भएको हामीले बुझेका छौं।’

यो सामग्री सेतोपाटी डटकममा समिक्षा अधिकारीले तयार पार्नुभएको हो । यसलाई सेतोपाटीमा पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://www.setopati.com/kinmel/construction/230717

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *