धमाधम पर्यटकीय पूर्वाधार

धमाधम पर्यटकीय पूर्वाधार

विश्वास रेग्मी

काठमाडौं । काठमाडौंस्थित मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि कोरोना सङ्क्रमणकै अवस्थाबीच सम्पन्न भयो । विमानस्थल स्तरोन्नतिको काम सरकारले कोरोनाका कारण बन्दाबन्दी रहे पनि जारी राख्यो । अहिले उक्त काममध्ये अधिकांश काम सम्पन्न भइसकेको छ । त्यस्तै विमानस्थल विस्तार आयोजनाको दोस्रो चरणको काम पनि सुरु भइसकेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा थप सुधार ल्याउँदै आवागमन सजिलो बनाइएको छ । त्यस्तै बोर्डिङ पासको क्रममा भीडलाई मध्यनजर गर्दै छुट्टै यात्रुकक्ष निर्माणको काम भइरहेको छ । विदेशीलाई स्वागत गर्ने मूलढोका समेत मानिने यो विममानस्थलमा नेपाली कला संस्कृति झल्कने गरी बुटिङ विमानस्थलको रुपमा स्थापित गर्ने तयारीका कामहरु निरन्तर भइरहेका छन् ।

हवाई यात्रुको चापमा अत्यधिक वृद्धि हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्लैले यात्रु थेग्ने क्षमता कम हुँदै गएको छ । यस्तोमा सरकारले राष्ट्रिय गौरवका आयोजनाकै रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ । देशकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका रुपमा निजगढमा विमानस्थल बनाउने दृढ अठोटका साथ सरकार लागिरहेको छ । उक्त क्षेत्रमा ‘ग्राउन्ड क्लियरेन्स’को काम लगभग सकिएको छ । अब रुख कटानको अवस्थामा आइपुगेको छ ।
काठमाडौं विमानस्थलको विकल्पको रुपमा तत्काल सञ्चालनमा आउन सक्ने विमानस्थल हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर लम्बिनीबाट करिब ४५ मिनेटको सडक दूरीमा रहेको यो विमानस्थलका लगभग सबै काम सकिएका छन् । कोरोनाका कारण उपकरण आयात नहुँदा काम रोकिए पनि यसले अहिले गति लिएको छ । भौतिक पूर्वाधारका करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आन्तरिक उडानका लागि प्रयोग भइरहेको यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने सम्झौता भएको १२ बर्ष बितिसके पनि यसले निकै उतारचढाव बेहोर्यो ।

मुख्य ठेकेदार र स्थानीय ठेकेदारको बारम्बारको विवादका कारण मुख्य लगानीकर्ता एसियाली विकास बैङ्क (एडीबी)ले यसबाट हात झिकिसकेको अवस्थामा सरकाले तीन वर्ष अघि समन्वय गर्दै यसलाई गति दियो । मुआब्जाबाहेक ६ अर्ब ८२ करोड लागत रहेको यो विमानस्थल २ सय ८७ बिघा क्षेत्रफलमा फैलिएको छ । निर्माण सम्पन्न हुने क्रममा रहेको यो विमानस्थलको धावनमार्ग तीन किलोमिटरको छ, जुन काठमाडौं विमानस्थलकै बराबरी हो । अहिले ७२ सिट क्षमताका जहाजमात्र अवतरण गर्न सक्ने यो विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन भएपछि एयरबस ३२० सम्मका तीन सय सिट क्षमताका जहाजसमेत अवतरण गर्न सक्नेछन् । विमानस्थलको नयाँ टर्मिनलले प्रति घन्टा दुई हजार यात्रुलाई सेवा दिन सक्छ । काठमाडौं विमानस्थलमा अत्यधिक ट्राफिक जाम हुँदा अथवा कुनै विपद्को समयमा अवतरण गर्न नसकेर आकाशमै होल्ड हुनुपर्ने समस्या यो विमानस्थलको निर्माणपछि समाधान हुने अपेक्षा गरिएको छ । विमानस्थल सञ्चालनपछि म्यानमार, श्रीलङ्का, मङ्गोलिया, भियतनाम लगायतका देशबाट यो विमानस्थलमा सिधा उडान हुनसक्ने अपेक्षा गरिएको छ ।

२०३२ सालदेखि नै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना बने पनि त्यो यतिबेला आएर मात्र कार्यान्वयन हुँदैछ । सन् २०१२ मा विश्वव्यापी बोलपत्र आह्वान गरे पनि सन् २०१४ मा चीनको सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता भएको थियो । तर ऋण प्रक्रियामा अल्झिएको यो विमानस्थलको त्यससम्बन्धी सबै काम सकिएपछि सन् २०१७ जुलाई ११ मा प्राधिकरणले सम्झौता पाएको चिनियाँ कम्पनीलाई निर्माणको कार्यादेश उदाएको थियो । त्यतिबेलै चार वर्षभित्र अर्थात् आगामी जुलाई १० मा सम्पन्न गर्ने निर्देशन प्राधिकरणले दिएको थियो । यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यही समयसीमाभित्र निर्माण सम्पन्न गरेर उदाहरणीय गौरवको आयोजनाका रुपमा स्थापित हुने गरी धमाधम काम हुँदैछ । कोरोना सङ्क्रमणका कारण केही समय निर्माणको काम रोेकिए पनि अहिले फेरि विस्तारै लयमा फर्किदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण यो आयोजना अझै पनि तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ । पोखराको छिन्नेडाँडामा रहेको यो विमानस्थल तीन हजार एक सय ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थललाई १० मिटर चौडाइसहितको चक्रपथले घेरेको छ । ६३ प्रतिशत भौतिक प्रगति भइसकेको यो विमानस्थल आइकाओ मापदण्ड अनुसार फोरडी स्तरको हुनेछ । दुई हजार पाँच सय मिटरको विमानस्थलको धावनमार्ग पूर्ण रुपममा ढलान गरिएको छ । १४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलको टर्मिनल निकै आकर्षक बनेको छ । यसमध्ये १० हजार वर्गमिटर क्षेत्रफलमा अन्तर्राष्ट्रिय टर्मिनल हुनेछ, बाँकी आन्तरिकतर्फको टर्मिनल हुनेछ । विमानस्थलमा दुई सय सिट क्षमताका जहाज मात्र अवतरण गर्न सक्नेछन् । विमानस्थलमा नेपालमै पहिलोपटक बोर्डिङ ब्रिजको प्रयोग गरिँदैछ । अर्थात् यात्रुहरुले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो बोर्डिङ पास भएपछि बसमा चढेर जहाजसम्म पुग्नुपर्ने छैन । यो विमानस्थलको निर्माणपछि खासगरी भारत र चीनसहित मलेसिया, सिङ्गापुर, थाइल्यान्डजस्ता देशबाट सिधै उडान हुन सक्नेछ । निर्माण सम्पन्न भए पनि सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने उद्देश्य राखिएको छ ।

विस्तार हुँदै आन्तरिक विमानस्थल
सरकारले यसबीचमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नति, विस्तार र परीक्षण उडानलाई विशेष प्राथमिकतामा राख्यो । धनगढी र चन्द्रगढीमा रातिसमेत उडान सम्भव बन्यो । कालीकोट र गुल्मीमा रहेका विमानस्थलको कालोपत्रे गर्ने काम यसै अवधिमा अघि बढ्यो । दाङ र सुर्खेत विमानस्थल विस्तारको लागि जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ । ताप्लेजुङ विमानस्थलमा पनि कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको छ । रामेछाप विमानस्थलको धावनमार्ग विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ । राजविराज र सिमरा विमानस्थल स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ । विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर निर्माणको अध्ययन सुरु भएको छ । थामखर्क, बलेवा, सिमकोट, रारा, फाप्लु, डोटी, साँफेबगर, रुम्जाटार विमानस्थलहरुमा एटीसी कन्सोल उपकरण प्रतिस्थापन काम भइरहेको छ । बझाङको चैनपुर विमानस्थलमा परीक्षण उडानपछि अहिले नियमित उडान भइरहेको छ ।

साझेदारीमा पूर्वाधार
पर्यटकीय पूर्वाधारमा हुने दोहोरो लगानी घटाउँदै पूर्वाधारमा तीनै तहको सरकारको लगानी साझेदारी कार्यान्वयनमा आएको छ । यसले पूर्वाधार निर्माणको आवश्यकता र त्यसको सम्भाव्यतासहित व्यवस्थित अध्ययन गरेर आवश्यक मात्र लगानी गर्ने अवस्था सिर्जना गरेको छ । यस्तो पूर्वाधारमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै सरकारको लगानी छ । जसले पूर्वाधार निर्माणमा स्थानीय तहको संलग्नता र जिम्मेवारी पनि बढाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको लगानी साझेदारी कार्यक्रमका लागि सरकारले दुई सयवटा पर्यटन पूर्वाधार छनोट गरिसकेको छ । त्यसका लागि मन्त्रालयबाट उपलब्ध गराइने र साझेदारी लागतसहितको लगानी पनि टुङ्गो लागिसकेको छ । यो कार्यक्रम कार्यान्वयनमा आएसँगै देशका सबै प्रदेशका विभिन्न स्थानमा दुई सयवटा पर्यटन पूर्वाधार निर्माणको काम अघि बढेको छ । हरेक वर्ष एकै किसिमबाट लागु हुने यो कार्यक्रमले फरक फरक निकायबाट भइरहेको पर्यटकीय पूर्वाधार निर्माणमा एकरुपता ल्याउनेछ ।

प्राथमिकतामा अन्तरप्रदेश उडान
काठमाडौं केन्द्रित नेपालको आन्तरिक हवाई संरचनालाई परिवर्तन गर्दै सरकारले पहिलोपटक अन्तरप्रदेश उडानलाई प्राथमिकतामा राखेको छ । प्रदेश अन्तर्गतका विमानस्थलबाट सोझै अर्को प्रदेशको विमानस्थलमा उडान गरेर सहज हवाई सेवा उपलब्ध गराउने सरकारको योजना छ । यसरी अन्तरप्रदेश उडान गर्न वायुसेवा कम्पनीहरुलाई पार्किङ शुल्क कम गर्ने लगायतका छुट सुविधा दिने सरकारले जनाएको छ । यसले उडान पूर्वाधार निर्माणलाई थप स्तरीय बनाउन पनि सहयोग पुग्ने देखिन्छ । त्यस्तै प्रमुख पर्यटकीय गन्तव्यमा जान काठमाडौंमै आएर अर्को उडान गर्नुपर्ने बाध्यता पनि यसले अन्त्य गरिदिनेछ ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यसलाई गोरखापत्र अनलाईनमा पढ्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/economics/2021-02-16-32089

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *