निर्माणाधीन सबै आयोजनामा ६ महीना म्याद थप

निर्माणाधीन सबै आयोजनामा ६ महीना म्याद थप

सरकारले निर्माणाधीन सबै पूर्वाधार आयोजनाको म्याद ६ महीना थप गरिदिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि चैतदेखि भएको बन्दाबन्दीले आयोजनाको काम रोकिएको र त्यस अवधिमा म्याद सकिएका तथा सम्झौता नसकिएका दुवैखाले आयोजनाको म्याद पुनः ६ महीना थपिएको हो ।

सरकारको यस निर्णयले झण्डै ६ हजार आयोजनालाई लाभ पुगेको छ । यसबाट बन्दाबन्दीको अवधिमा म्याद सकिएकाले स्वतः ६ महीनाको थप म्याद पाएका छन् भने म्याद नसकिए पनि काम गर्न नसकेका आयोजनामा भने साविकको सम्झौता अवधिमा ६ महीना थप हुनेछ । यो म्याद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार थप गरेको हो ।

चालू रहेका आयोजनाको म्याद थप भने एकपटक मात्रै थप हुने कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि भने सरकारले चैतदेखि बन्दाबन्दी अवधिमा म्याद सकिएका आयोजनालाई मात्रै ६ महीनाको म्याद थप्ने निर्णय गरेको थियो । यद्यपि उक्त निर्णय भाषागत समस्या भएको भन्दै सार्वजनिक निकायले कार्यान्वयन गरेका थिएनन् । कार्यालयले असार २९ गते म्याद थपको निर्णय गरेको थियो ।

यसैगरी म्याद थप्दाको अतिरिक्त लागतको भार सरकारलाई नपर्ने र अन्य कुनै प्रकारको माग दाबी गर्न नपाउने गरी सम्बन्धित निकायले म्याद थप्नुपर्ने निर्णय पनि कार्यालयले गरेको छ । यस्तै निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थपेर सरकारले आयोजना अघि बढाउन सहजीकरण गरेको र अब भुक्तानी पनि साथसाथै हुनुपर्नेमा जोड दिए ।

बन्दाबन्दीमा म्याद सकिएका आयोजना करीब ५०० रहेको भन्दै उनले यो म्याद थपले सबै आयोजनालाई लाभ नदिने बताए । ‘चैतदेखि कात्तिकसम्मलाई शून्य समय मानेर एक सिजनकै म्याद थप गर्नुपर्ने थियो,’ उनले भने । सरकारको उक्त निर्णयसँगै आयोजनाको काम अघि बढाउन सहयोग हुने निर्माण व्यवसायी बताउँछन् । अभियानबाट

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *