निर्माण व्यवसायीको समस्या मात्र राखेको होइन, समाधानको उपाय पनि सुझाएका छौं : अध्यक्ष रवि सिंह

निर्माण व्यवसायीको समस्या मात्र राखेको होइन, समाधानको उपाय पनि सुझाएका छौं  : अध्यक्ष रवि सिंह

काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलले आइतवार नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटेर आफ्ना मागहरुको विषयमा ध्यानाकर्षण गराएको छ । सो क्रममा मन्त्री पौडेल सकारात्मक देखिएको र समस्या समाधानतर्फ उन्मुख भएको महासंघका अध्यक्ष सिंहले बताउनु भएको छ । के अब निर्माण व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान भएर निर्माण क्षेत्रले गति लिने संकेत देखिएकै हो त ? यसबारे निर्माण खबरले अध्यक्ष सिंहसँग लिएको अन्तरवार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

निर्माण खबर : तपार्ईंहरुले अर्थमन्त्री पौडेलसँग के–के माग राख्नु भयो ?

सिंह : अर्थमन्त्रीज्यू पदमा बहाल हुने वित्तिकै यसअघि नै हामीले हाम्रा मागहरु पेश गरेका थियौं । हाम्रा अधिकाँस मागहरु अर्थ मन्त्रालयसँग सम्बन्धित भएकोले हामी अर्थ मन्त्रालय पुगेका थियौं । त्यतिबेला उहाँले सबै मागहरुका बारेमा अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको थियो । तर अर्थ मन्त्रालयबाट हाम्रा मागहरुका सम्बन्धमा ‘रेस्पोन्स’ नआएपछि हामी तिनै मागहरुका सम्बन्धमा ध्यानाकर्षण गराउन र एक खालको दवाव सिर्जना गर्न आइतबार मन्त्रालय पुग्यौं । धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छूट लगायतका विषयमा हामीले अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौं ।

निर्माण खबर : अनि अर्थमन्त्रीले के भन्नु भयो त ?

सिंह : ध्यानाकार्षणको क्रममा हामीले अहिले निर्माण कार्यका दृष्टिले मुख्य सिजन हो । यो समयमा द्रुत ढंगले काम गर्ने वातावरण बनाइदिनु भएन भने देशको विकासले गति लिन सक्दैन । यो सरकारसँगै जोडिएको विषय भएकोले तपाईंहरुले यसलाई गम्भीरतापूर्वक लिनु पर्छ भन्यौं । उहाँले निर्माण व्यवसायीहरुको माग र समस्याको बारेमा आफू गम्भीर रहेको र समस्या समाधानको लागि सकारात्मक रहेको बताउनु भयो । ‘चाँडै तपाईहरुको मागको विषयमा छलफल गरेर टुग्याउँछौं,’ भन्नु भयो । उहाँले ‘छिट्टै सरोकारवालासँग छलफल गर्छु’ भन्नु भएको छ ।

निर्माण खबर : मन्त्रीज्यूले केही मागहरुको विषयमा क्याविनेटबाटै निर्णय गर्नु पर्ने भएकोले समय लाग्छ भन्नु भयो रे नि त ?

सिंह : निर्णय पक्रियामा क–कस्को भूमिका र क्षेत्र हुन्छ भन्ने भन्दा पनि हाम्रा मागहरु यी कारणले जायज छन् भन्ने विषयमा हामीले मन्त्रीज्यूलाई प्रष्ट पारेका छौं । हाम्रो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ । मन्त्री परिषदबाटै निर्णय गर्नु पर्ने विषयहरु पनि अब अलमल गरेर समय गुजार्ने अवस्था छैन । देश विकास र अर्थतन्त्रको सुदृढीकरणका लागि सरकार गम्भीर हुनै पर्छ । हाम्रा अधिकाँस मागहरु मन्त्रालयस्तरबाटै समाधान हुने किसिमका छन् । यसबारेमा पनि हामीले अर्थमन्त्रीज्यूलाई सुझाव दिएका छौं । अझ आयोजनाहरुको म्याद थप्नुपर्ने विषयमा त महानिर्देशक स्तरकै निर्णयबाट सकिन्छ भन्ने कुरामा हामीले ध्यानाकर्षण गराएका छौं ।

निर्माण खबर: अब अथमन्त्रीले भनेजस्तै निर्माण व्यवसायीहरुको समस्या समाधान होला त ?

सिंह : हुनुपर्छ भन्ने हाम्रो माग हो । अन्यथा सरकार असफल ठहर्छ । देशमा निर्माण कार्यले गति लिँदैन । कोभिड–१९ को असरले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम हुँदा बन्द हुने स्थितिमा पुगेको छ । सरकारले निर्माण व्यवसायीहरुलाई समयमा भुक्तानी दिन सकेको छैन । अधिकाँस आयोजनाहरुको म्याद फागुन १४ गतेबाट सकिँदैछ । यस्तो अवस्थामा सरकारले ठोस निर्णय लिएर निर्माण क्षेत्रमा देखिएका समस्याहरुमा गम्भीर देखिएन भने त्यो देशकै लागि दुर्भाग्य हुनेछ ।

निर्माण खबर : तपाईंहरुले समस्या मात्र राख्नु भयो कि समाधान….?

सिंह : हामीले समस्या मात्र देखाएका छैनौं । समाधानका उपायहरु पनि सुझाएका छौं । जस्तो आयोजनाहरुको म्याद थप्ने कुरा महानिर्देशककै लेवलबाट गर्न सकिने मैले अघि नै भनिसकें । त्यसैगरी अहिले ठप्प रहेको निर्माण कार्यलाई पुनः संचालन गर्न निर्माण व्यवसायीहरुका सम्पन्न भएका र चालू अवस्थामा रहेका ठेक्काको पाँच प्रतिशत धरौटी वापतको रकम निर्माण उद्योगलाई दिन सकिन्छ । आर्थिक कारोबारलाई चलायमान गर्न निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गर्न सकिन्छ । धरौटी वापतको रकम बजारमा आएको खण्डमा निर्माण व्यवसाय चल्न सक्छ ।

Leave a comment

1 Comment

  1. नयाँ मंत्री सकारात्मक देखिनु हूँछ

Send a Comment

Your email address will not be published. Required fields are marked *