निर्माण व्यवसायीहरु मूल्य वृद्धिको समस्या लिएर बाणिज्य विभाग जाने

निर्माण व्यवसायीहरु मूल्य वृद्धिको समस्या लिएर बाणिज्य विभाग जाने

काठमाडौं । निर्माण सामग्रीमा अस्वाभाविक मूल्यवृद्धि गरिएपछि मारमा परेका निर्माण व्यवसायीहरु अब बाणिज्य विभाग जाने भएका छन् । बजारमा व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्ने काम वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भएकोले निर्माण सामग्रीमा गरिएको अस्वाभाविक मूलय वृद्धि नियन्त्रणको विषयलाई लिएर आफूहरु विभाग जान लागेको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले निर्माण खबरलाई बताउनु भयो ।

कोरोना महामारी नियन्त्रणको अवस्थामा पुगेपछि निर्माण कार्य सुचारु हुने आशा पलाए पनि निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण अहिले निर्माण व्यवसायीहरु समस्यामा परेका छन् । पछिल्लो समय उत्पादक कम्पनीहरूले छड, तारलगायत फलामजन्य निर्माण सामग्रीको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपियाँ बढाएका छन् भने सिमेन्टको मूल्यमा पनि वृद्धि गरिएको छ ।

निर्माण सामग्रीमा अत्याधिक मूल्य वृद्धि गरिएबाट आफूहरुले पूर्व सम्झौताअनुसारका निर्माण कार्य गर्न नसक्ने र व्यवसायबाटै हात धुनु पर्ने अवस्था सिर्जना भएको भन्दै निर्माण व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।
गत पुस २७ गते काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो । अन्य जिल्लाहरुमा पनि निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारसमक्ष ज्ञापन पत्र बुझाइरहेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको अवस्थामा मूल्य वृद्धि अस्वाभाविक भएको र मानोमानी तरिकाले उपभोक्तातर्फ नसोची एकोहोरो मूल्य वृद्धि गर्ने काम भएकोले यसलाई रोक्नुपर्ने बताउनु भएको छ । मूल्य वृद्धिबाट छ महिनादेखि एक वर्षे सम्झौताका आयोजना प्रभावित हुने महासंघले जनाएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *