परेवा भीरमा बन्न थाल्यो सडक

परेवा भीरमा बन्न थाल्यो सडक

शिवकुमार काशी
हेटौँडा  । हिउँदयामको ९ महिना सजिलै यातायात सुविधा उपभोग गर्ने मकवानपुरको दुर्गम कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दाको दैनिकी बर्षायाममा कष्टकर साबित हुनेगर्छ ।

राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर खण्डमा पैदल हिँड्ने बाटो समेत नहुँदा वर्सेनि धेरै मानिस भीरबाट लडेर र खोलाले बगाउँदा मर्ने गर्छन् । राष्ट्रिय रुपमै चर्चा पाएको परेवाभीर खण्ड यस क्षेत्रको विकासको बाधक बनेर बसेको जनप्रतिनिधिहरुले बताउँदै आएका छन् ।

मनहरी बजारबाट धादिङ जिल्लाको मलेखु जोड्ने छोटो बाटोमा पर्ने परेवाभीरको यही पिरलोलाई हल गर्न स्थानीय सरकारले गरेको प्रयास सफलता उन्मुख हुँदै गएको छ । राक्सिराङ गाउँपालिकाले चालू आर्थिक बर्षमा दुई करोड रुपियाँ बिनियोजन गरी बहुबर्षीय ठेक्का लगाएसँगै परेवाभीर खण्डमा धमाधम बलियो जगसहितको सडक निर्माणाधीन छ ।
बागमती प्रदेश सरकारले परेवाभीर खण्डमा बजेट खर्च नगर्ने जनाएपछि राक्सिराङ गाउँपालिकाले बिनियोजन गरेको दुई करोड र मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सदस्य विरोध खतिवडाको पहलमा प्राप्त दुई करोड समेत गरी ठेक्का प्रक्रियामार्फत धमाधम निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

स्थानीय सरकारको कामलाई समेत प्रोत्साहन गर्नेगरी तत्कालीन प्रतिनिधिसभा सदस्य खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट २०७७ भदौ ९ गते सशर्त अनुदानमा अर्थ मन्त्रालयमार्फत दुई करोड रुपियाँ सो सडकका लागि व्यवस्था गर्नु भएको हो । ‘मनहरी खोलाको किनारमा जग बनाएर रडसहितको बलियो कंक्रिट पर्खाल निर्माण गरी परेवाभीरको किनारै किनारै बाटो निर्माणले गति लिएको छ’, अध्यक्ष मल्लले भन्नुभयो–‘सकेसम्म बर्षायाममा यातायात चलाउनेगरी काम अघि बढाइएको छ ।’

निर्माणकर्ता ठेकेदार कम्पनीसँग १८ महिनामा सडक हस्तान्तरण गर्नेगरी सम्झौता भएको हो । राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा सडक निर्माणका लागि छ करोड ६१ लाख ६९ हजार लागत लाग्ने गरी डिपिआर निर्माण गरी ठेक्का प्रक्रिया अघि बढाएको थियो । तर उक्त खण्डमा सडक निर्माण गर्न चार करोड ३२ लाख रुपियाँ लागतमा ठेकेदार कम्पनी लामा बानियाँ जेभीले ठेक्का सकार गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । सम्झौता अनुसार परेवाभीर खण्ड ६३० मिटर लम्बाई खण्डमा बलियो कंक्रिट पर्खाल उठाएर सडक निर्माण गर्नुपर्ने छ ।

पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दुरी पर्दछ । अधिकाँश स्थानमा ट्रयाक खुलिसके पनि परेवाभीरको अबरोधका कारण यो खण्ड सञ्चालनमा आउन सकेको छैन । परेवाभीर खण्ड निर्माण सम्पन्न हुनासाथ मनहरी–मलेखु सबारी सञ्चालन हुने अबस्था रहने कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान बताउनुहुन्छ ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यसलाई गोरखापत्र अनलाईनमा पढ्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/economics/2021-02-17-32188

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *