पर्यटन दशक मनाइरहेको सरकार भद्रगोल पूर्वाधारबारे बेखबर

सरकारले घोषणा गरेको पर्यटन दशक (सन् २०२३–२०३२) को कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा सन् २०३२ मा पुग्दा वार्षिक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । सुरुको वर्ष (सन् २०२३ मा) १० लाख १५ हजार पर्यटकले नेपाल घुमे । यस्तै, यो वर्ष (२०२४) को सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आजभन्दा १३ वर्षअघि (सन् २०११ मा) सरकारले १० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेकामा आठ लाख पर्यटक भित्रिएका थिए । यसरी हेर्दा पछिल्लो १० वर्षमा औसत १० लाख हाराहारीमै पर्यटक भित्रिएको देखिन्छ ।

भ्रमण वर्ष (सन् २०२०) मा २० लाख पर्यटक भित्र्याउने सरकारको घोषणा थियो, यद्यपि कोरोना महामारीले पूरा हुन दिएन ।

यतिखेर सरकारले पर्यटक दशक मनाइरहे पनि पर्यटन विकासका लागि आवश्यक आधारभूत कुरामा भने ध्यान दिएको छैन । जानकारहरू नेपालको पर्यटन विकासमा कैयौँ बाधा रहेको बताउँछन् ।

होटल तथा पर्यटन क्षेत्रको जनशक्ति उत्पादन गर्ने गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाई यातायात लगायतमा भौतिक संरचनाको अभाव, दक्ष जनशक्तिको अभाव, सरसफाइ नहुनु, विभिन्न सेवामा शुल्क महँगो हुनु आदि कारण पर्यटन विकासमा समस्या देखिएको बताउँछन् ।

‘स्थलमार्गको अवस्था निकै बिजोग छ, हवाई यातायात उत्तिकै महँगो,’ उनी भन्छन्, ‘दैनिक दुर्घटनाका समाचार आउँछन् । यस्तो भद्रगोल अवस्थामा कसरी सोचे जति संख्यामा पर्यटक ल्याउन सकिन्छ त ?’

पर्यटनको विकास समग्र आर्थिक, सामाजिक क्षेत्रसँग जोडिएको हुन्छ । त्यसकारण समाज र राज्य दुवै चेतनशील भएर यसको विकासमा लाग्नुपर्ने लकाईको भनाइ छ । ‘सरकार र निजी क्षेत्र सबैभन्दा जागरुक हुनैपर्‍यो,’ उनी भन्छन् ।

आर्थिक सर्वेक्षण अनुसार नेपाल आउने पर्यटकमध्ये करिब ६७ प्रतिशत बिदा मनाउन आउँछन् । यस्तै १०.३ प्रतिशत पर्वतारोहण तथा पदयात्राका लागि, ७.४ प्रतिशत तीर्थयात्राका लागि र १५.५ प्रतिशत अन्य प्रयोजनका लागि नेपालमा आउने गरेका छन् ।

सन् १९७० को दशकमा नेपालमा जंगल सफारी सुरु हुँदा एसियाका धेरै मुलुकमा पर्यटनको अवधारणा नै सुरु भएको थिएन । बेलायत, जापान, अमेरिका लगायत देशसँगको पुरानो सम्बन्ध र त्यो सम्बन्धका कारण हुने उच्चस्तरीय राजकीय भ्रमणले नेपालमा पर्यटन क्षेत्रको सुरुवात गरेको थियो ।

यस्ता तथ्यांकलाई आधार मानेर पनि सरकारले पर्यटन प्रवर्द्धनका लागि योजना बनाउनुपर्ने हुन्छ ।

स्वाभाविक रूपमा आवतजावतका लागि पहिलो र अनिवार्य क्षेत्र हो, यातायात । हाम्रा अधिकांश सडक पर्यटकमैत्री मात्र होइन, गाडी गुडाउन पनि लायक छैनन् । छोटो दूरीको यात्राका घन्टौँ समय खेर गइरहेको छ । काठमाडौँदेखि २०० किलोमिटर दूरीमा रहेको प्रमुख पर्यटकीय गन्तव्य पोखरा पुग्नै अहिले सामान्य अवस्थामा पनि १२ घन्टाजति लाग्छ ।

यसमाथि राजमार्ग क्षेत्रका होटलको अवस्था, शौचालय लगायत अन्य आवश्यक पूर्वाधारको अवस्था उत्तिकै बिजोग छ । सुरक्षा लगायत विभिन्न कारण देखाउँदै युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको १३ वर्ष भइसकेको छ ।

पर्यटन विभागको पूर्वाधार तथा अनुगमन शाखा प्रमुख सचिन्द्रकुमार यादव अन्तरसरकारी निकाय बिचको समन्वय अभावले पर्यटन क्षेत्रको विकासमा ठुलो बाधा पुगेको बताउँछन् । ‘पर्यटन विभागले मात्रै चाहेर नहुने काम यहाँ धेरै छन् । जोडिएका सबै पक्षले साथ दिए, नेपालमा ठुलो संख्यामा पर्यटक ल्याउन सकिन्छ,’ उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *