पाँच मेगावाटको सोलार प्लान्ट निर्माण

पाँच मेगावाटको सोलार प्लान्ट निर्माण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा सोलारबाट पाँच मेगावाट विद्युत् उत्पादन हुने भएको छ । सोलार फार्म प्रालिले सोलारबाट विद्युत् उत्पादनका लागि अनुमति लिई थालिएको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले अबको तीन महिनाभित्र बिजुली उत्पादन गर्नेगरी तयारी भइरहेको कम्पनीका निर्देशक मनकारी गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमणका कारण अवरोध भएकाले केही समय ढिला भए पनि नेपाली नयाँ वर्षमा प्रयोग गर्न मिल्नेगरी विद्युत् उत्पादन हुनेछ । ”

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस हाताभित्र निर्माण भइरहेको फार्ममा हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रालिकाअनुसार उत्पादित पाँच मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणका राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी सहमति लिई काम थालिएको थियो ।
कम्पनीले उत्पादन गरेको विद्युत् झरौटामा रहेको ट्रान्सफर्मरमा जडान गरिने योजना बनाएको छ । गत वर्ष नै बिजुली उत्पादन गर्ने लक्ष्य रहेको भए पनि कोरोना सङ्क्रमणले काम प्रभावित हुँदा निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

आयोजना १०० रोपनी क्षेत्रमा फैलिएको छ । आयोजनाका लागि करिब ४५ करोड रुपियाँ लागत अनुमान गरिएकामा हाल बढेर करिब ५५ करोड रुपियाँ पुग्ने अनुमान छ ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यसलाई गोरखापत्र अनलाईनमा पढ्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/economics/2021-02-13-31937

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *