पाण्डुकेश्वर मन्दिरको गजुर हस्तान्तरण

पाण्डुकेश्वर मन्दिरको गजुर हस्तान्तरण

मकवानपुर । हिन्दू धर्मअन्तर्गत हिमवत् खण्डमा वर्णन गरिएअनुसार ६४ शिवलिङ्ग मध्ये एक मानिने मकवानपुरको पाण्डुकेश्वर मन्दिरको लागि गजुर हस्तान्तरण गरिएको छ । वि. सं. २०७२ सालको गोर्खा भूकम्पले क्षतिग्रस्त भएपछि पुनःर्निमाणको क्रममा मन्दिरको गजुर हस्तान्तरण गरिएको हो ।

गोर्खा भूकम्पपछि क्षतिग्रस्त मन्दिरलाई पुरातत्व विभागले पुरानै शैलीमा मन्दिर पुनःनिर्माण गरेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको सार्वजनिक निर्माण कार्यान्वयन इकाईको सहयोगमा मन्दिरको प्राङ्गणमा ढुङ्गा बिछ्याइएको छ । थाहा नगरपालिकाले मन्दिरको मूल ढोका निर्माण गरिदिएको छ । यसपछि अब पुरातत्व विभागको सहयोगमा तामाको छानो राख्ने तयारी भइरहेको बेला स्थानीय कार्की परिवारका दाताहरुले प्रदान गरेको गजुर पाण्डुकेश्वर क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको हो ।
थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीको रोहबरमा स्थानीय रामहरि कार्की, किरण कार्की, दिपक कार्की र राजेन्द्र कार्कीले संयुक्त रुपमा दान गर्नुभएको गजुर हस्तान्तरण गरिएको हो ।

पुनः निर्माणअघि तीस इन्च अग्लो गजुर रहेकोमा अहिले हस्तान्तरण गरिएको गजुरको उचाई अठ्चालीस इन्च रहेको पाण्डुकेश्वर क्षेत्र विकास समितिका कोषाध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो । तामाबाट तयार पारिएको गजुरमा पहेँलो स्थायी रंग लगाएर सुनजस्तै टल्काइएको छ ।

अब छिट्टै मन्दिरमा गजुर राखेर तामाको छानो पनि राख्ने र मन्दिर प्रतिस्थापन गरिने पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरीले बताउनु भयो ।

हिमवत खण्डमा पाण्डुक नामका ऋषिले भगवान शिवको आराधना गर्दा सिद्ध प्राप्त गरी भगवान शिव ज्योति स्वरुपमा प्रकट भएकोले पाण्डुकेश्वर नाम रहन गएको उल्लेख छ । यो मन्दिरलाई पुरातत्व विभागले सम्पदा सुचीमा सुचिकृत गरेको छ । मन्दिरमा शिवरात्री, हरितालिका तीज, बाला चतुर्दशी लगायत पर्वहरुमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *