पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गरिँदै

पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गरिँदै

तामाङ सम्पदा मार्गमा पर्ने पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्न थालिएको छ । कुण्ड भित्र रहेको बोझोको कारण कुण्डको आकार घटेको र त्यहाँ रहेको मन्दिर समेत जीर्ण भएपछि बागमती प्रदेशले त्यस क्षेत्रमा गत वर्षदेखि कार्यक्रम सञ्चालन गर्न थालेको हो ।  

बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कुण्डमा धारा निर्माण गर्ने, बोझो हटाउने, मन्दिरको पुनर्निर्माण गर्ने लगायतका काम गरिरहेको छ । वार्षिक रूपमा हजारौं पर्यटक जाने गरेका भएपनि कुण्डको उचित संरक्षण नहुँदा समस्या हुँदै आएको थियो ।  

जिल्लाको आमाछोदिङ्गो गाउँपालिका–३, गत्लाङमा रहेको पार्वतीकुण्ड बोझोले पुरिँदै गएपछि पर्यटक जाने क्रम घटेको थियो । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो समय पर्यटक नआएको भएपनि त्यसभन्दा अगाडि मानसरोवर जाने तीर्थयात्री समेत पुग्ने गरेका थिए ।  

कुण्डको वरिपरि फैलिएको बोझोझारलाई हटाएर कुण्डको आकार बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ । यस कुण्डमा १०८ वटा धारा निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको ४० लाख रुपैयाँको आर्थिक सहयोगमा कार्यालयले कुण्डमा रहेको बोझोझारलाई हटाएर कुण्डको आकार बढाएको थियो ।  

चालु आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७४ लाख ४८ हजार रुपैयाँको लागतमा कुण्डमा नुहाउनका लागि १०८ वटा धारा निर्माण गरेको हो । कुण्डको प्रवेशद्वार भित्र मेसनरी वाल लगाएर पक्की बनाइएको छ । कुण्ड वरिपरि परिक्रमा गर्न एक मिटर चौडाई रहेको करिब ४ सय मिटर लम्बाईको बाटो निर्माण गरिएको छ । यसले  कुण्डमा स्नान गरी कुण्ड परिक्रमा गर्न चाहने भक्तजनहरूलाई सहज हुने विश्वास लिइएको छ ।

कुण्डमा निस्केको पानीलाई जमाएर धारामा लगिने गरि र पर्खाल लगाएर पानी जमाउने गरि पोखरीलाई ठुलो बनाइएको कार्यालयले जनाएको छ । यससँगै प्रदेश सरकारकै आर्थिक सहयोगमा सोही स्थानमा रहेको मन्दिरलाई जीर्णोद्वार समेत गरिएको छ । स्थानीय बुढापाकाहरूले विगतमा कुण्डभित्र फैलिएको बोझो निकाल्दा गाँउमा महामारी हुने तथा विपद् हुने भन्दै निकाल्न नपाउँदा कुण्ड साँघुरिएको थियो ।  

 ७ हजार वर्ष अगाडि हिमवत् खण्डको स्कन्द पुराणको नीलगिरी पर्वत श्रृङ्खला अन्तर्गत धार्मिक क्षेत्रमध्ये गनिएको ठाउँ भएकोले यसको ठुलो महत्व रहेको र बीचमा यसलाई उपेक्षा गरेपछि पर्यटक बढ्न नसकेका रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले बताए । अहिले यसको संरक्षणका लागि प्रदेश सरकार र स्थानीय जुटेकाले केही वर्षपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्दै जाने उनको भनाइ छ ।  

२६०० मिटरको उचाईमा रहेको यो कुण्डको संरक्षण र कुण्ड वरिपरि बनाइएका संरचनाहरूले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण बढदै जाने र पछि थप पर्यटकहरू आउने त्यहाँका होटल व्यवसायी फुर्पुसिङ्गी तामाङले बताए । कुण्डलाई स्थानीयले अहिले गहनाको रूपमा हेर्न थालेका छन ।  

धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुण्डको संरक्षणलाई धार्मिक महत्व दिँदैे पार्वतीकुण्डमा विभिन्न अवसरमा श्रद्धालुको भीड लाग्ने गर्दछ । यस क्षेत्रमा पछिल्लो समय वनभोजका लागि समेत रोजाइमा पर्न थालेको छ । गणेश र साङजेन हिमाल तथा समथर घाँसेमैदान सोमदाङ उपत्यका, एवं धार्मिकस्थल जागेश्वर कुण्ड जस्ता क्षेत्रहरूमा यसै स्थानबाट पदयात्रा गर्न सकिने भएकाले यसको संरक्षणमा स्थानीयहरू जुटेका छन् ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *