पुनर्निर्माणको ६ वर्ष : निजी आवासमा ९३ प्रतिशत उपलब्धि

पुनर्निर्माणको ६ वर्ष : निजी आवासमा ९३ प्रतिशत उपलब्धि

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जानकारी दिए।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेकाको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने उनले बताए।

यस्तै पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको पनि ज्ञवालीले जानकारी दिए। यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने उनको भनाई छ। निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरुको सम्बोधन गरिएको पनि उनले बताए।

भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहिन लाभग्राहीलाई जग्गा व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको उनको भनाई छ।

क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको र धरहराको बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने कार्यक्रम छ।

सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पूनर्निमाण सम्पन्न भई गत वर्षदेखि सञ्चालनमा आइसकेको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार गर्नेकार्य जारी रहेको पनि सिईओ ज्ञवालीले जानकारी दिए ।

क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये एक सय भन्दा पुराना र २ हजार वर्ग फिट भन्दा बढी प्लिथ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्ष भन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुननिर्माण कार्य अगाडि बढिसकेको छ ।

भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ, बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन् । यस्तै १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको र २ सय ९६ को पुननिर्माण जारी छ । कुल ४ सय १५ सरकारी भवन मध्ये ९० प्रतिशतको पुनर्मिाण सम्पन्न भइसकेको छ ।

सुरक्षा निकायका २ सय १६ संरचना मध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यसबाहेक सडक तर्फ ७ सय ६२ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किलोमिटर पुनर्निर्माण सम्पन्न भएको सिईओ ज्ञवालीले जानकारी दिए।

पुनर्निर्माणका लागि दाता सम्मेलनमार्फत छिमेकी मुलुकहरु तथा मित्र राष्ट्र तथा गैरसरकारी संस्थाहरुबाट प्रतिबद्धता प्राप्त भएको ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएकोले वास्तविक प्रतिबद्धता २ खर्ब ९४ अर्ब रुपैयाँ मात्र भएको सिईओ ज्ञवालीले स्पष्ट पारे ।

यसमध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको बताए। गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि समझौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ ।

यो अवधिमा भत्केका संरचनाहरु मात्र पुनर्निर्माण भएका छैनन् । पुनर्निर्माण अभियानले महत्वपूर्ण गुणात्मक परिवर्तन समेत ल्याएको सिइओ ज्ञवालीको भनाई छ । करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी सृजना भएको पनि उनले बताए। त्यसबाहेक सिमेन्ट, इँछा, छड, जस्तापाता, क्रसर एवं काठ लागयतका उद्योगहरुको प्रवर्द्धनमा टेवा पुगेको उनको धारणा छ।

भूकम्प र त्यसपछिको पराकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाको मूल उद्देश्यसहित २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो । प्राधिकरण स्थापना भएको ६४ महिना पुगेको छ ।

यो अवधिमा विपद्लाई अवसरका रुपमा उपयोग गरी भूकम्पप्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वासथ्य संस्था एवं पुरातात्विक सम्पदासहित ठूलो संख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्प प्रतिरोधी ढङ्गले पुनर्निर्माण गर्ने काम भइरहेको प्राधिकरणले बताएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *