पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा : तेस्रोपटकमा पुस मसान्तसम्म थपियो म्याद

भरतपुर । छ लेनमा विस्तार भइरहेको पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार दोस्रोपटक थपिएको म्यादमा पनि काम नसकिएपछि तेस्रोपटक म्याद थपिएको छ । दोस्रोपटक थपिएको म्याद गएको भदौ मसान्तसम्म थियो । सडक विस्तारको काम हालसम्म ९० प्रतिशत सकिएको उनले बताए । बाँकी काम सक्न पुस मसान्तसम्मको म्याद थप भएको उनले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडकमा दुईवटा एक्सप्रेस लेन र दुईवटा सर्भिस लेन बनाइएको छ । गोन्द्राङदेखि चौबीसकोठीसम्म तेस्रो अर्थात् अन्तिम तहको कालोपत्रे गरेर सकिएको इन्जिनियर साहले बताए । ‘गोन्द्राङदेखि बसपार्क चोकसम्म तेस्रो लेयरको कालोपत्रे यसअघि नै भइसकेको हो । पछिल्लोपटक बसपार्क चोकदेखि चौबीसकोठीसम्म तेस्रो लेयरको काम सकिएको छ । तिहारपछि चौबीसकोठीदेखि नारायणगढतर्फ तेस्रो लेयरको कालोपत्रे गर्ने काम हुन्छ’, उनले भने ।

चौबीसकोठीदेखि पुलचोकसम्मका विभिन्न स्थानमा पहिलो र दोस्रो तहको कालोपत्रे भएको छ । तेस्रोपटक थपिएको म्यादमा सबै काम सकिने उनले दाबी गरे । सडक विस्तारका क्रममा भरतपुर ओरालोको उचाइ घटाइएको छ । सडक विस्तारको जिम्मा पाएको इण्डो सगुन जेभीका इन्जिनियर सुनिल ढुङ्गानाका अनुसार भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडक विस्तारको लागत एक अर्ब ७६ करोड रूपैयाँ रहेको छ । सडकको दायाँ–बायाँ ११.५/११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ । बजार क्षेत्रमा सर्भिस लेनमा मात्र नभई एक्सप्रेस लेनमै समेत सवारीसाधन पार्किङ गरिँदा बजार अव्यवस्थित बनेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुलचोक–गोन्द्राङ सडक एसियाली मापदण्डमा विस्तार भएको बताइन् । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै सडकलाई व्यवस्थित गर्ने दायित्व स्थानीयकै भएको उनले बताइन् । व्यवस्थित गर्नका लागि महानगरले सडकसँग जोडिएका वडा र टोल विकास संस्थाका पदाधिकारीसँग छलफल पनि गरेको छ ।

‘अब सम्बन्धित टोलहरुले आआफ्नो क्षेत्रको सरसफाइ, हरियाली र संरक्षणमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनुभएको छ’, दाहालले भनिन्, ‘सडकको दायाँबायाँका घरधनी र व्यवसायी मित्रहरुलाई हाम्रो अनुरोध छ कि फोहरको गाडी नआउँदै घरभित्रको फोहर सडकमा ल्याएर नफालौँ । सभ्य नगरवासीको परिचय स्थापित गरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *