प्रगतिउन्मुख राष्ट्रिय गौरवका आयोजना

प्रगतिउन्मुख राष्ट्रिय गौरवका आयोजना

डम्बरजङ्ग डाँगी

काठमाडौँ । कोरोना महामारीका कारण केही समय प्रभावित राष्ट्रिय गौरवका आयोजनाको निर्माणले गति लिएको छ । कोरोना महामारीको नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी गरिएपछि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन पनि प्रभावित भएको थियो ।

जनशक्ति परिचालन प्रभावकारी हुन नसक्दा र खासगरी मेसिन उपकरण आयात रोकिएको थियो । “काम नै त कुनै पनि आयोजनाको रोकिएन तर गति कम भयो । खासगरी विदेशबाट सामान आउन नसक्दा अपेक्षित गतिमा काम अगाडि बढेन । अहिले सामान आउन थाल्यो, पूर्ववत् रूपमा काम हुन थाल्यो,” राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले भन्नुभयो ।
कोरोनाकै कारण चालू आर्थिक वर्षको छ महिनामा राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएका रकममध्ये करिब १५ प्रतिशत मात्रै खर्च भएको छ । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनाका लागि कुल ९२ अर्ब छ करोड २३ लाख रुपियाँ विनियोजन गरिएकोमा पुस मसान्तसम्ममा विनियोजित रकमको १५.१९ प्रतिशत अर्थात् १३ अर्ब ९८ करोड ८५ लाख रुपियाँ खर्च भएको हो ।

डा. फुयालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति पहिलो चौमासिकमा कम देखिए पनि दोस्रो र तेस्रो चौमासिकमा काम धेरै हुने बताउनुभयो । अहिले दोस्रो चौमासिक चलिरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये केही आयोजना पूरा हुने चरणमा छन् भने केही आयोजना सञ्चालन विधि तय नहुँदा सुरुवात हुन सकेका छैनन् ।

अन्तिम चरणमा रहेका आयोजना
राष्ट्रिय गौरवका आयोजनाको कुल सङ्ख्या २५ रहेकोमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने चरणमा छन् । आव २०७६/७७ सम्मको भौतिक प्रगति माथिल्लो तामाकोसीको ९९.७३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ९७ प्रतिशत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत छ ।

दुई दशकअघि २०५५ सालदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा छ । कुल ३१ अर्ब ३६ करोड रुपियाँ संशोधित लागत रहेको यो आयोजनामा २९ अर्ब ४६ करोड रुपियाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा पाँच अर्ब ४६ करोड ४५ लाख रुपियाँ विनियोजन भएकोमा पुससम्ममा ५८ करोड १९ लाख रुपियाँ खर्च भएको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट चैतभरिमा परीक्षण उत्पादन गर्ने लक्ष्य छ । प्रायः सबै काम सम्पन्न भइसकेको तर ‘एक्स्टेन्सन ज्वाइन्ट’मा प्रयोग हुने सय मिटर पाइपको डिजाइन परिवर्तन गर्नुपरेको र सो पाइप भारतमा निर्माण भइरहेकाले केही बढी समय लागेको सो आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । चैत मसान्तसम्ममा छमध्ये एक युनिट (७६ मेगावाट)बाट परीक्षण उत्पादन हुने जानकारी उहाँले दिनुभयो ।

माथिल्लो तामाकोसी आयोजनाका लागि चालू आर्थिक वर्षको बजेटमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । पुससम्ममा वित्तीय संस्थाबाट ऋण लिएर दुई अर्ब १२ करोड रुपियाँ खर्च भई कामले तीव्रता पाएको छ । एक दशकअघि २०६७/६८ देखि सुुरु भएको यो आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो भइसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका केही उपकरण जडान गर्ने कार्य बाँकी छन् । तीन हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिल निर्माण सम्पन्न भइसकेको छ । चालू आर्थिक वर्षमा चार अर्ब ७२ करोड ५० लाख रुपियाँ विनियोजनगरिएकोमध्ये पुससम्ममा दुई अर्ब ९८ करोड रुपियाँ खर्च भएको छ ।

सडक आयोजना
राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका राजमार्ग निर्माण आयोजनामध्ये हुलाकी राजमार्गको भौतिक प्रगति ५५ प्रतिशत, मध्य पहाडी राजमार्गको ४९ प्रतिशत, कर्णाली करिडोरको २२ प्रतिशत, कोसी करिडोरको २१.५ प्रतिशत र काठमाडौँ तराई मधेस द्रुतमार्गको ११ प्रतिशत छ ।

हुलाकी राजमार्गका लागि चालू आर्थिक वर्षमा विनियोजित सात अर्ब एक करोड ५२ लाख रुपियाँमध्ये तीन अर्ब ३४ करोड ३७ लाख रुपियाँ खर्च भएको छ । एक हजार ७९२ किमि लामो यो राजमार्गको ५१२ किमि कालोपत्रे, २१९ पुलमध्ये ९५ प्रतिशत निर्माण भइसकेको छ ।

देशका २६ जिल्लालाई समेट्ने गरी २०६४/६५ मा सुरु भएको एक हजार ८७९ किमि लामो पुष्पलाल –मध्य पहाडी) राजमार्गको ९१५ किमि कालोपत्रे, १२९ वटामध्ये ८४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आव २०७६/७७ सम्ममा यो आयोजनाको भौतिक प्रगति ४९ प्रतिशत छ ।

चालू आर्थिक वर्षका लागि आठ अर्ब २७ करोड ४० लाख रुपियाँ विनियोजन गरिएकोमा पहिलो छ महिनासम्ममा एक अर्ब ७६ करोड ८५ लाख रुपियाँ खर्च भएको छ । उत्तर दक्षिण लोकमार्ग (कोसी करिडोर)को सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको १६२ किमिमध्ये १४८ किमि ट्र्याक खुलेको छ भने बाँकी १४ किमिको ट्र्याक खोल्ने काम भइरहेको छ ।

यो आयोजनाका लागि चालू आर्थिक वर्षमा कुल ९५ करोड २८ लाख रुपियाँ विनियोजन भएकोमा आठ करोड २५ लाख रुपियाँ खर्च भएको छ । कुल ४३१ किमिको कालीगण्डकी करिडोरको आव २०७६/७७ सम्मको भौतिक प्रगति गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको २१.५ प्रतिशत र बेनी–जोमसोम–कोरला खण्डको ५६ प्रतिशत रहेको छ । यो करिडोरको मालढुङ्गा राम्दी–गैँडाकोट खण्डको २४५ किमिमध्ये २४४ किमि र बेनी–जोमसोम–कोरोला सडकको १८६ किमिको सबै ट्र्याक खुलेको र १०८ किमि ग्राभेलसमेत भइसकेको छ ।
कर्णाली करिडोरका लागि चालू आर्थिक वर्षमा ६२ करोड २८ लाख रुपियाँमध्ये चार करोड छ लाख रुपियाँ खर्च भएको छ । हुम्लाको सरिसल्लादेखि सिमकोटसम्म १४५ किमिको यो करिडोरको १३० किमि ट्र्याक खुलेको छ । चालू आर्थिक वर्षको पुससम्ममा काठमाडौँ–तराई मधेस द्रुतमार्गमा एक अर्ब २३ करोड ७० लाख रुपियाँ खर्च भएको छ ।

चालू आर्थिक वर्षमा आठ अर्ब ९३ करोड ८८ लाख रुपियाँ विनियोजन भएको थियो । ललितपुर, काठमाडौँ, मकवानपुर र बारामा पर्ने ७२.५ किमि लामो यो द्रुतमार्गको ५५.५ किमिमध्ये ४४.१ किमिको माटो खन्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माण
राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका तीनवटा विमानस्थल आयोजनामध्ये गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक तथा वित्तीय प्रगति राम्रो छ । एक दशकअघि २०६८ सालमा सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ । धावनार्ग, ट्याक्सी वे, एप्रोन, हेङ्गरलगायतका निर्माण सम्पन्न भइसकेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका भौतिक प्रगति भने १० प्रतिशत जति मात्रै छ । चालू आर्थिक वर्षमा ५० करोड रुपियाँ विनियोजन गरिएकोमध्ये पुससम्ममा पाँच करोड रुपियाँ खर्च भएको छ । हाल यो आयोजनाको गुरुयोजना अध्यावधिक गर्ने र डिटेल डिजाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

जलविद्युत् आयोजना
राष्ट्रिय गौरवका जलविद्युत् आयोजना तीनवटा छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अन्तिम चरणमा छ भने बूढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति १० प्रतिशत छ । धादिङ जिल्लामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनामा जग्गाको मुआब्जा दिने काम भए पनि पूर्वाधार निर्माणको काम सुरु भएको छैन ।

चालू आर्थिक वर्षमा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरिएको भए पनि पुससम्ममा एक अर्ब आठ करोड रुपियाँ खर्च भएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण मोडालिटी नै बन्न सकेको छैन ।

सिँचाइ आयोजना
चारवटा सिँचाइ आयोजना राष्ट्रिय गौरवका आयोजनाको सूचीमा समावेश छन् । आव २०७६÷७७ सम्ममा सिक्टा सिँचाइ आयोजनाको ६३ प्रतिशत, बबई सिँचाइ आयोजनाको ५२ प्रतिशत, रानीजमरा ४८ प्रतिशत र महाकाली सिँचाइको ३९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना (बाँके)ले ४२ हजार ७६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखेकोमा सात हजार हेक्टरमा सिँचाइ उपलब्ध गराइसकेको छ ।

चालू आर्थिक वर्षमा एक अर्ब ५५ करोड ७४ लाख रुपियाँ विनियोजन भएकोमा झन्डै ३५ करोड रुपियाँ खर्च भइसकेको छ । आयोजना सुरु भएको २५ वर्ष र आयोजना सम्पन्न गर्ने भनिएको समय पाँच वर्ष बितिसकेको छ । बबई सिँचाइ आयोजनाले ३६ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । यसको हेडवक्र्स निर्माण, झन्डै १९५ किमि शाखा नहर, बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण कार्य १८ किमि सम्पन्न भएको छ ।
३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य रहेको महाकाली सिँचाइ आयोजना, कञ्चनपुरको १२.७ किमि मूल नहर निर्माणलगायतका काम सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा ४३ करोड ७३ लाख रुपियाँ विनियोजन भएकोमा पुससम्म २६ करोड ८९ लाख रुपियाँ खर्च भएको छ ।
कुल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ गर्ने लक्ष्य रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना (कैलाली)को इन्टेक, मूल नहर तथा फिडर नहर, शाखा नहर र शाखा इन्टेक र प्रशाखा मुहान निर्माण सम्पन्न भएको छ । चालू आर्थिक वर्षका लागि दुई अर्ब १७ करोड ५६ लाख रुपियाँ छुट्याइएकोमा ७४ करोड ८६ लाख रुपियाँ खर्च भएको छ ।

बहुउद्देश्यीय आयोजना

सिँचाइ र जलविद्युत् उत्पादन गर्ने दुई राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ४० प्रतिशत छ भने सुनकोसी मरिण बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति एक प्रतिशतभन्दा पनि कम छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (सुर्खेत, बाँके, बर्दिया)ले ५१ हजार हेक्टरमा सिँचाइ र ४६.८ मेगावाट जलविद्युत् निकाल्ने लक्ष्य राखेको छ ।

सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना (सिन्धुली, रामेछाप, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा)ले एक लाख २२ हजार हेक्टरमा सिँचाइ र २८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यो आयोजनाको जग्गा प्राप्ति र इन्जिनियरिङ डिटेलको समीक्षा गर्ने काम भइरहेको छ । यसबाहेक आव २०७६÷७७ सम्ममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको ९२ प्रतिशत, पशुपति विकास कोषको ८६ प्रतिशत, लम्बिनी विकास कोषको ८५ प्रतिशत र रेलवे तथा मेट्रो विकास आयोजनाको २५ प्रतिशत भौतिक प्रगति छ ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यसलाई गोरखापत्र अनलाईनमा पढ्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।
https://gorkhapatraonline.com/mainnews/2021-02-14-31973

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *