प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली सोमबार दाङ आउँदै

प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली सोमबार दाङ आउँदै

६ महिनाअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङ आउने भएका छन्।

चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन गर्न भोलि प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउन लागेका हुन्।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए।

त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आव्हान गरेको थियो।

प्रचण्ड दाङ आउँदा खबर संकलनका लागि पुगेका पत्रकारमाथि तत्कालिन नेकपा एकालेका कार्यकर्ताले लमहीमा दुर्व्यवहारसमेत गरेका थिए।

तत्कालिन समयमा नेकपा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी थिए। उनी दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन्। हाल उनी नेकपा प्रचण्ड-नेपाल समूहका नेकपा केन्द्रीय सदस्य चौधरीले प्रधानमन्त्री ओलीलाई लाज नभएको नेताको संज्ञा दिएका छन्।

‘त्यतिबेला हामीले पार्टी केन्द्रकै निर्देशनमा प्रचण्ड दाङ आउँदा जिल्ला बन्द आह्वान गरेका थियौं,’ चौधरीले प्रश्न गरे, ‘आज तीनै ओली प्रचण्डले सिलान्यास गरेको पुल तामझाँमका साथ उद्घाटन गर्न आउनु कति लाज नभएको होला।’

यद्यपी नेता चौधरीले प्रधानमन्त्री ओलीले पुल उद्घाटन गर्न आउनुलाई सामान्य रूपमा लिएको प्रतिक्रिया दिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म एउटै पार्टीका अध्यक्ष रहेका ओली र प्रचण्ड यतिबेला दूई चिरामा छन्। यस्तो बेला प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न महत्व दिएर ओली दाङ आउनुलाई निकै चासोका साथ हेरिएको छ।

ओलीका विश्वास पात्र एवं लुम्बिनी प्रदेशका मुख्य मन्त्री दाङकै हुँदाहुँदै उनी आफैं पुल उद्घाटन गर्न आउनुलाई दाङमा बिथोलिएका नेता कार्यकर्ता घुमाउने प्रयास हुनसक्ने कतिपय नेताले आँकलन गरेका छन्।

दाङका तीन वटै प्रतिनिधिसभा सदस्य प्रचण्ड-नेपाल समूहमा छन्। जिल्ला कार्य समिति पनि सुविधाजनक बहुमतसाथ प्रचण्ड-नेपाल समूहमा छ।

प्रहरी अधिकारीका अनुसार प्रधानमन्त्री ओली सोमबार हेलिकोप्टर चढेर राप्तीमा निर्मित पुल उद्घाटन गर्न आउँदैछन्।

प्रधानमन्त्री पुल उद्घाटन गर्न दाङ आउने निश्चित भएसँगै पछिल्लो एक सातादेखि यसको तयारी थालिएको थियो।

जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी एक हप्तादेखि कार्यक्रमस्थल तय, मञ्च व्यवस्थापन र सुरक्षा व्यवस्थापनजस्ता कार्यको लागि खटिँदै आएको प्रहरीले जनाएको छ।

‘प्रधानमन्त्री हेलिकोप्टरबाट देउखुरी आउने हामीलाई सर्कुलेसन छ,’ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले सेतोपाटीसँग भने, ‘पुल उद्घाटन सकेपछि मनतब्यको कार्यक्रम झन्डै साढे ३ किलोमिटर उत्तरको लालमटिया नजिकैको खाली चौरमा गर्ने गरि मञ्च व्यवस्थापन गरिएको छ।’

नेपालकै दोस्रो लामो पुल

दाङ देउखुरीस्थित राप्ती नदीको पुल एक वर्ष पहिले नै निर्माण पुरा भएको थियो ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ। चौडाइ साढे १० मिटर छ ।

करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।

पुल चार वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो ।

निर्धारित समय भन्दा पहिलै पुल निर्माणको काम पुरा गरेपछि निर्माण कम्पनीको निकै प्रशंशा बटुलेको थियो ।

राप्ती नदीको यो पुल निर्माणको काम यसअघि नेपालकै सबैभन्दा लामो गेरुवाको पुल निर्माण गरेको कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले गरेको हो ।

बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा निर्मित ‘गेरुवा पुल’को नामले चर्चित उक्त पुलको लम्बाई १ हजार १५ मिटर लामो छ ।

राप्ती नदीमा यो पुल निर्माण हुनुभन्दा पहिला बर्षामा स्थानीयले डुँगाबाट वारपार गर्ने गर्दथे । राप्ती नदीको वारिपारी खेतबारी भएका किसानले बर्षामा बाढी आउँदा ज्यानकै बाजी थापेर खेतिपातिका लागि वारपार गर्नु पर्ने बाध्यता थियो । कित, कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने अवस्था थियो । राप्ती र गढवा गाउँपालिका जोड्ने पुल राप्ती नदीमा निर्माण भएपछि आज पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन । लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । आज राप्ती गाउँपालिकाबाट सोझै गढवा गाउँपालिका जान सकिन्छ ।

प्रधानमन्त्री आउने पुल उद्घाट गर्न आउने कार्यक्रममा करिब ५० हजार मानिस उतार्ने गरि तयारी गरिएको प्रधानमन्त्री ओली समूहका एक नेताले सेतोपाटीलाई बताए ।

यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर सेतोपाटीमा पढनको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.setopati.com/politics/227418

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *