प्रधानमन्त्रीकै पहल पर्खिरहेको ओलाङचुङगोला सडक

ओलाङचुङगोला । सात महिनाअघि चैतमा चीन जोड्ने पूर्वोत्तर मुकाम ओलाङचुङगोला जाँदा केपी शर्मा ओली सरकारका प्रधानमन्त्री थिएनन्, साझेदारमात्रै थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको पोल्टाबाट आफूतिर तानेर ल्याउँदै ओलीले उनको क्याबिनेटका केही मन्त्री अनि ताप्लेजुङका सांसद समेत रहेका एमाले सचिव योगेश भट्टराईलाई चिनियाँ नाका नजिकै लगे । उद्देश्य थियो– ओलाङचुङगोलामा नेपालतर्फबाट गाडी पुर्याउने, कोशी प्रदेशलाई चीनसँग सडकमार्गबाटै जोड्ने ।
आठ शताब्दी पुरानो डिकी छोलिङ गुम्बामा पद्मसम्भव रिन्पोचेले ध्यान गरेको, अनि चिनियाँहरुले नेपाल हुँदै भारतसँग आर्थिक सम्बन्ध बनाएको महत्वपूर्ण पूर्वोत्तर बजार ओलाङचुङगोलामा पोहोर चैत २९ गते गाडी पुग्नु केवल एउटा समाचार थिएन, त्यो ओलीले छिमेकीहरुलाई दिएको भूराजनीतिक सन्देश पनि थियो । नेपाल अब स्थानीय रुपमै पनि फेरि चीनसँग जोडिन सक्छ, जसरी कुनै बेला पैदल वा घोडाबाट जोडिएको थियो भन्ने भाव त्यहाँ प्रवाह भयो ।
बीचको कोभिडकालमा नाका बन्द हुनु अपवाद थियो, जसबाट सीमावर्ती चिनियाँ बजार रिउसम्म गएर नेपालीले आफ्नो व्यवसाय चलाउन पाइरहेका थिएनन् ।