फोक्सिङटारमा १२० मिटरको बेलिब्रिज राखिने 

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएको ठाउँमा सरकारले बेलिब्रिज जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।

१२० मिटरको बेलिब्रिज जडान गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जानकारी दिए। नेपालमा १२० मिटरको बेलिब्रिज पहिलो पटक राख्न लागिएको पनि मन्त्रालयले जनाएको छ।

जुन मुलुकले बेलिब्रिज उपलब्ध गराउने हो उसैले जडानमा प्राविधिक सहयोग उपलब्ध गराउने पनि उनले विश्वास व्यक्त गरे।

‘भारतले यसमा प्राविधिक सहयोग गर्छ भन्ने हामीलाई विश्वास छ। हाम्रा प्राविधिकहरूले पनि काम गर्नुहुन्छ,’ उनले भने।

अहिले ५० मिटरदेखि १२० मिटरसम्मका पाँच सेट बेलिब्रिज माग गरिएको उल्लेख छ। पहिलो प्राथमिकतामा फोक्सिङटारमा बेलिब्रिज राख्न दिइने पनि मन्त्री दाहालले बताए।

यसअघि पुल बगाएको ठाउँमा सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको थियो।

नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको उल्लेख गरिएको छ।

बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटर लम्बाइको बेलिब्रिज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि एक सय २० मिटरको बेलिब्रिज हालेर यातायात सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *