बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्यो, खप्तड जान सबैभन्दा सहज

बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्यो, खप्तड जान सबैभन्दा सहज

बझाङ । बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने सेती नदी झनाना पक्की पुलको सोमबार औपचारिक उद्घाटन गरिएको छ । थलारा गाउँपालिकाको आयोजनामा पुलको औपचारिक उद्घाटन गरिएको हो ।

निर्माण समितिले पुल निर्माणको काम केही दिनअघि सम्पन्न गरिसकेको थियो। उद्घाटनको जिम्मा गाउँपालिकाको भएकाले साउन ११ गते सोमबार संविधानसभा सदस्य लालबहादुर रावलको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमकाबीच उक्त पुलको उद्घाटन गरिएको हो ।

संविधानसभा सदस्य एलबी रावलले रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माणको जिम्मा शर्मा बिकोई जेभी कम्पनीले पाएको थियो । उक्त पक्की पुलको लम्बाइ १ सय मिटर रहेको छ । शर्मा बिकोई जेभिका आधिकारिक व्यक्ति नवराज थापाकाअनुसार २ बर्खा सिजन असार साउन र भदौ बाहेकका महिना जोडी २ वर्षमा पुल निर्माणको कार्य सम्पन्न गरिसक्ने सम्झौता भए पनि स्थानीय तह चुनाव, राष्ट्रिय चुनाव र पछिल्लो चरणमा कोरोना संक्रमणका कारण कामदार र निर्माण सामाग्री अभावका कारण समयमा पुल निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ।

करिब ९ करोडको लागतमा निर्माण सम्पन्न भएको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो । सम्झौता अवधिमा पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा एक पटक म्याद थप गरिएको थियो ।

सेती नदी वारी पारीको बझाङको भू-भाग जोड्ने दुइवटा मोटरेवल पुलको निर्माण सम्पन्न भइसकेको छ भने अझैं तल्कोटस्थित देवसैन, मष्टा र जयपृथ्वी जोड्ने कपडे मोटरेवल पुल, तमैल मोटरेवल पुल, केदारस्युँ र थलारा गाउँपालिका जोड्ने सिमार मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भइरहेको छ ।

ती पुल सञ्चालनमा आएपछि सेती नदी वारपार गर्न सहज हुने र विकासले गति लिने अपेक्षा राखिएको छ ।

यो समाचार दी जे पि डेली डट कमबाट साभार गरिएको हो । यो खबर दी जे पि डेली डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *