बाढीपहिरोको क्षतिमा साढे ९ अर्बको बिमा दाबी, भुक्तानी ३० करोड मात्र

काठमाडौँ — असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिमा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जानएको छ । यो गत मंगलबारसम्मको तथ्यांक हो । गत असोज १० देखि कात्तिक ६ सम्म तीन हजार तीन सय ६ वटा आवेदनबाट ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो ।
परेका दाबीमध्ये ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ सम्पत्ति बिमाअन्तर्गतको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । बाँकी दाबी मोटर बिमा (निजी), मोटर बिमा (सार्वजनिक), सामुद्रिक बिमा, कृषि बाली बिमा, पुशपन्छी बिमा र विविधअन्तर्गत रहेको प्राधिकरणको तथ्यांक छ ।
करिब साढे नौ अर्ब रुपैयाँको दाबी परे पनि मंगलबारसम्म करिब साढे ३० करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । परेकामध्ये २ सय ६१ वटा दाबीअन्तर्गत ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ । बाढीपहिरोले पुर्याएको क्षतिमा परेका दाबी छिटो भुक्तानी दिन बिमा प्राधिकरणले निर्देशन दिए पनि फर्छ्योट रकम हेर्दा अझै धेरै भुक्तानी दिन बाँकी छ ।
हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानीसम्बन्धी कागजातमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिस लगायत कागजात आवश्यक नपर्ने व्यवस्था मिलाउन पनि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यसअघि नै निर्देशन दिइसकेका छन् ।
अन्य कागजातहरूको सूचीसमेत छोटो पार्न र बिमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न पनि प्राधिकरणले भनेको छ । हालको विशेष परिस्थितिमा बिमा दाबी बिस्तारै थपिँदै जान सक्ने र बाढी तथा पहिरोका कारण बिमालेख हराएको पनि हुन सक्नेतर्फ ध्यान दिन पनि बिमा कम्पनीहरूलाई प्राधिकरणले यसअघि नै निर्देशन दिइसकेको छ ।
गत मंगलबारसम्म दाबी भुक्तानी भएकामध्ये पनि सबैभन्दा धेरै १ सय ३५ वटा दाबी सम्पत्ति बिमाअन्तर्गतका छन् । निजी मोटर बिमामा ८४ र सार्वजनिक मोटर बिमामा २१ वटा दाबी भुक्तानी भएको पनि प्राधिकरणको तथ्यांक छ ।
हालसम्म निजी मोटर बिमामा ८ सय ३८ र सार्वजनिक मोटर बिमामा ३३८ वटा दाबी परेका थिए । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी दाबी वाग्मती प्रदेशमा छ । यस प्रदेशमा हालसम्म दुई हजार ९ सय १० वटा दाबी संख्यामार्फत ८ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ बराबर दाबी परेका छन् । तीमध्ये २ सय ४२ वटा दाबीअन्तर्गत २९ करोड १७ लाख ४७ हजार रुपैयाँ भुक्तानी भएको छ ।
धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ । यस प्रदेशमा दुई सय २८ वटा दाबी संख्यामार्फत करिब ३३ करोड ६२ लाख १७ हजार बराबरको दाबी परेको छ । तीमध्ये हालसम्म ९ वटा दाबीमा ७६ लाख २० हजार रुपैयाँ भुक्तानी भएको छ । यसैगरी मधेशमा ९४ वटा दाबीअन्तर्गत १४ करोड रुपैयाँ बराबरको माग दाबी भएको थियो । त्यसमा ८ वटा दाबीअन्तर्गत २१ लाख ९२ हजार रुपैयाँ भुक्तानी भएको छ ।
लुम्बिनीमा ४३ वटा दाबीअन्तर्गत ९ करोड रुपैयाँ माग दाबी गरिएको थियो । यसमा एउटा मात्र दाबीमा २० लाख ७५ हजार रुपैयाँ भुक्तानी भएको छ । गण्डकी प्रदेशमा २७ वटा दाबीअन्तर्गत ५ करोड ४८ लाख रुपैयाँ माग दाबी भएकोमा अझै एउटाको पनि भुक्तानी भएको छैन ।
गत मंगलबारसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई/दुई वटा दाबी परेका छन् । तीमध्ये कर्णाली प्रदेशमा कुनै दाबीको पनि भुक्तानी भएको छैन भने सुदूरपश्चिम प्रदेशमा एउटा दाबीको ९ हजार १ सय रुपैयाँ भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।