बारामा पुल शिलान्यास

बारामा पुल शिलान्यास

वीरगंज। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बारामा पुल निर्माणको शिलान्यास गरेका छन्।

परवानीपुर–प्रस्टोका सडकखण्डमा पर्ने दुधौरा खोलाको बडहर्वाघाट पुलको शुक्रबार विहान शिलान्यास गरेका हुन्।

परवानीपुर गाउँपालिका-१ र प्रसौनी गाउँपालिका-५ लाई सडकले जोड्न निर्माण हुने पुलका लागि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले १० करोड १५ लाख ४५ हजार रूपैयाँ बजेट विनियोजना गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मै पुल बनाउने योजना प्रदेश सरकारले बजेट छुट्याएर घोषणा गरेको थियो। योजना भने अघि बढेको थिएन। ८२.९५ मिटर लम्बाई, ४० मिटरको दुई वटा स्पान र सवारी साधन आवतजावत गर्ने चौडाई साढे ५ मिटर हुनुपर्ने पुलको डिजाइन छ।

पुल निर्माणको ठेक्का प्रक्रिया गत असोजमै सम्झौता भइसकेको छ। निर्माण पूरा गर्न निर्माण कम्पनीलाई २० महिनाको समयावधि धिइएको छ। पुलको ठेक्का रायमाझी–अजाद जेभी काठमाडौंले पाएको छ।

मन्त्री सोनलले वर्षौदेखि उक्त खण्डमा पुल नबन्दा दर्जनौ गाउँका बासिन्दालाई मर्का परिरहेको बताए। पुल बनेपछि किसानलाई कृषि उपज सहजै परवानीपुर, कलैया र प्रसौनी बजारमा लैजान र खेतीकिसानीमा पनि मद्दत मिल्ने बताए। पुल तयार भएपछि १५ किलोमिटर घुमेर कलैया पुग्नुपर्ने बाध्यता हट्ने पनि उनले बताए।

शिलान्यास कार्यक्रममा बारा क्षेत्र न. ४ का निवर्तमान प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, परवानिपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, प्रसौनि गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता साह ,परवानीपुर-३ का वडाध्यक्ष अनिल राम, जसपा नेता आनन्द गुप्ता र मन्त्रालयका उपसचिव कृष्ण मिश्रलगायतको उपस्थिति रहेको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले बताए।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *