भीमफेदीको सुपिङमा वृहद खानेपानी योजना शुरु

भीमफेदीको सुपिङमा वृहद खानेपानी योजना शुरु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ मा उपल्लो सुपिङ वृहद खानेपानी योजना शुरु गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माणको शिलान्यास गरेर वृहद खानेपानी योजना शुरु गरिएको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले एक कार्यक्रमका बीच योजनाको शुरुवात गर्नुभएको हो । गाउँपालिकाको रु.एक करोड ४२ लाख ७४ हजार २८० लगानीमा उपल्लो सुपिङमा वृहद खानेपानी योजना शुरु गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनु भयो ।

खानेपानी योजनाअन्तर्गत आगामी २०७८ को जेठ तेस्रो सातासम्म सम्पन्न गर्नेगरी भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा. लि. भक्तपुरसँग ठेक्का सम्झौता भएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताउनु भयो ।

यसअघि गत आर्थिक वर्ष २०७६/०७७ मा मुहानमा इन्टेक निर्माण र एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भइसकेको छ ।

‘डबल लिफ्ट’ प्रणालीबाट ट्याङ्कीमा पानी जम्मा गरेर गाउँबासीलाई वितरण गर्ने गरी काम शुरु भएको गाउँपालिकाले जनाएको छ । यो योजनाबाट भीमफेदीको सुपिङ, ज्यामिरे, धुसेनी लगायत क्षेत्रका करिब ३ सय ५० घरधुरी लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत कुँवरले जानकारी दिनुभयो ।

उचित खानेपानीको व्यवस्थापन नहुँदा सो क्षेत्रका बासिन्दाले समस्या भोग्दै आएका छन् ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *