मकवानपुरको थाहा नगरमा रिसोर्ट र होटलहरु थपिँदै

मकवानपुरको थाहा नगरमा रिसोर्ट र होटलहरु थपिँदै

मकवानपुरको पर्यटकीय क्षेत्रको रुपमा परिचति थाहा नगरपालिकामा रिसोर्ट तथा होटलहरु थपिँदै गएका छन् । कोभिड–१९ को महामारीको पर्यटन व्यवसाय प्रभावित भइरहेको बेला थाहा नगरपालिकामा भने रिसोर्ट तथा होटलहरु थपिएका छन् ।

संघीय राजधानी काठमाण्डौंबाट नजिक र बागमती प्रदेश राजधानी हेटौंडाबाट पनि नजिक भएकोले कोरोना कहरबीच पनि थाहा नगरमा पर्यटकहरु आइरहेका छन् । नियमित पर्यटकहरुको चापमा केही कमी आए पनि मौसमी पर्यटकहरु आउने क्रम बढेपछि व्यवसायीहरु नयाँ रिसोर्ट र होटल संचालन गर्न उत्साहित भएका छन् ।

नेपालमा कोभिड–१९ को प्रभाव देखिन थालेयता मात्र थाहा नगरपालिकामा १ दर्जनभन्दा बढी साना–ठूला नयाँ होटलहरु संचालनमा आएका छन् । एक साताअघि मात्र थाहा नगरपालिका वडा नं. ४ दामन नयाँगाउँमा सहारा रिसोर्ट संचालनमा आएको छ । पर्याप्त पार्किङ, सभाहल र अत्याधुनिक सुविधासहित झण्डै रु.साँढे तीन करोडको लगानीमा रिसार्ट संचालनमा ल्याएको सहारा रिसोर्ट प्रा. लि. का प्रवन्ध निर्देशक हरेराम कार्कीले बताउनु भयो । लकडाउनकै बीचमा नयाँगाउँमै होटल पाइनस शुरु गरिएको थियो ।

थाहा नगरपालिकामा दामन, पालुङ, बज्रवाराही र चित्लाङमा पर्यटकमैत्री होटल तथा रिसोर्टहरु रहेका छन् । नगरमा पर्यटकहरुका लागि ४६ वटा सुविधायुक्त होटलहरु रहेको थाहा होटल एसोसिएसनका अध्यक्ष शिबकुमार खत्रीले बताउनु भयो । सानाठूला गरी थाहानगरमा दुई सय ५० वटा होटलहरु रहेका छन् ।

कोरोना कहरबीच पर्यटन प्रवर्धनका लागि थाहा नगरपालिकामा धमाधम उद्यान र भ्युटावरहरु समेत निर्माण भइरहेका छन् । थाहा पर्यटन उद्यान(पार्क) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने राष्ट्रिय विभूति उद्यान पनि निर्माणको क्रममा रहेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *