मकवानपुरमा एकसाथ चार वटा स्वास्थ्य संस्था भवन शिलान्यास

मकवानपुरमा एकसाथ चार वटा स्वास्थ्य संस्था भवन शिलान्यास

मकवानपुर । मकवानपुरमा २०७२ सालको भूकम्पका कारण क्षति भएका मध्ये मङ्गलवार चार वटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत निर्माण हुने चार वटा स्वास्थ्य संस्थाको भवनको मङ्गलवार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर शिलान्यास गरिएको हो ।

मङ्गलवार मकवानपुरको थाहा नगरपालिका–११, टिष्टुङ्गस्थित १० कोठे स्वास्थ्य चौकीको भवनको राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख तुल्सीराम खर्बुजाले शिलान्यास गर्नुभएको हो ।

यस्तै राक्सिराङ–८, खैराङ्ग स्थित २२ कोठे स्वास्थ्य चौकी भवनको प्रदेशसभा सदस्य सन्त चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का विष्णु अर्यालले शिलान्यास गर्नुभएको हो ।

त्यस्तै भीमफेदी–४, निवुवाटारस्थित ९ कोठे स्वास्थ्य चौकी भवनको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रबिन पाठकले तथा बकैया–२, धिँयालस्थित स्वास्थ्य चौकी भवनको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का लेखा प्रमुख दिपक गजुरेल र इन्जिनियर प्रज्वल श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।टिष्टुङ्ग र खैराङ्ग (५ शय्याको) स्वास्थ्य चौकी १८ महिना भित्र तथा धियाल र निवुवाटार स्वास्थ्य चौकीको भवन १५ महिनाभित्र गर्ने गरी शिलान्यास गरिएको हो ।

४ वटा स्वास्थ्य संस्था भवनको कुल लागत १० करोड ४९ लाख ८२ हजार ८ सय २१ रुपैयाँमा ठेक्का सम्झौता भएको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रबिन पाठकले जानकारी दिनुभयो ।

इन्जिनियर पाठकका अनुसार मङ्गलवार मकवानपुरमा ४ सहित नवलपुर र नवलपरासीमा गरी १२ वटा स्वास्थ्य संस्था भवनको एकै साथ शिलान्यास गरिएको छ ।मकवानपुरमा आज शिलान्यास भएका ४ सहित कुल ९ वटा स्वास्थ्य संस्था भवनहरू भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत निर्माण हुन लागेको छ ।

जिल्लामा यस अघि भवन मार्फत निर्माण भएको एउटा स्वास्थ्य संस्था भवन हस्तान्तरण भइसकेको छ भने ४ वटा निर्माणाधीन रहेको तथा ४ वटाको आज शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो ।मकवानपुरमा कुल ९ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि २३ करोड रुपैयाँ लागत अनुमान रहेको बताउनुभयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *