मदन भण्डारी मार्ग निर्माण कार्य तीव्र गतिमा हुँदै

मदन भण्डारी मार्ग निर्माण कार्य तीव्र गतिमा हुँदै

सप्तरी । राष्ट्रिय योजना अन्तर्गत सप्तरीको रुपनगर चौकदेखि उदयपुरको शिवाइसम्मको मदन भण्डारी मार्गको निर्माण कार्य अहिले तीव्र रूपमा भइरहेको छ  ।

२०७५ साल फागुन १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भण्डारी मार्गको निर्माण कार्य तीव्र रूपमा भइरहेको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिनुभयो ।मदन भण्डारी मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर चौकदेखि चर्खिया, बस्तीपुर, श्रावणपुर, पौडाहा खोला हुँदै उदयपुरको सिवाई सम्मको सडक निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।आर्थिक बर्ष २०७७/०७८ मा ठेक्का पाएका बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले चर्खिया देखि पौडाहा खोला श्रावणपुर सम्मको सडक खण्डमा कालो पत्रेका लागि अहिले माटो खसाउने र ग्राभेलको काम सुरु गरेको छ ।

यस आर्थिक वर्षमा रु ४ करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले तत्काल मदन भण्डारी मार्ग सडकमा माटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्रे समेत गर्ने योजनाका साथ सडक बाटो निर्माणको काम तीव्र रूपमा भइरहेको जनाएको छ  ।ती सडकमा अहिले टिपर र ट्याक्टरबाट माटो खसाउने काम  भइरहेको छ भने कालोपत्रेको कामका लागि समेत तयारी तीव्र रूपमा जोरतोरका साथ गरिएको कञ्चनरुप नगरपालिका नगर  प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।यस्तै रु एक करोडको ठेक्का पाएका निरज जोशीले पनि मदन भण्डारी मार्ग अन्तर्गत त्रिमार्ग देखि शिवालय मन्दिर हुँदै चर्खिया सम्मको करिब ७ सय मिटर सम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम समेत सुरु गरिएको छ  ।

गत आर्थिक वर्ष २०७६/०७७ मा समेत रु एक करोडको लागतमा रुपनगर चौकदेखि शिवालय चौक सम्म करिब ७ सय मिटर कालोपत्रे सम्पन्न गरेको थियो । त्यसपछि सो सडक खण्डमा बाँकी रहेको सडक बाटो निर्माणको काम अहिले भइरहेको जनाइएको छ  ।रुपनगर चौक देखि उदयपुरको सिवाई सम्म निर्माण भइरहेको मदन भण्डारी मार्गको लम्बाई भने १३ किलो मिटर रहेको छ ।राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले शिलान्यास गर्नुभएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ ।यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भई ठेक्काका लागि सम्झौता अनुसार कामहरू समय समयमा भइरहेको सडक डिभिजन कार्यालय लहानको भनाई छ  । यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानियबासीहरु समेत खुसी भएका छन्  ।

सडक बाटोको अभाव खेप्दै आएका रुपनगरबासी अहिले सप्तरीको रुपनगर चोकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्गको निर्माण कार्य देखेर स्थानीयवासी खुसी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङगे खुटा हिँड्नुपर्ने बाध्यता समेत अन्त्य हुन लागेको स्थानीय हेम अधिकारीले बताउनुभयो  ।यो सडक मदन भण्डारी मार्गमा कालोपत्रे भएर निर्माण भइसकेपछि  उदयपुरको पहाडी मार्गमा जोडिएकाले व्यापारिक दृष्टिकोणले ट्रक, सुमो गाडी र बसमा सामान ओहोरदोहोर गर्न समेत सजिलो हुने व्यापारी नजिर मियाँ बताउनुहुन्छ ।

यो समाचार अनलाइन रेडियो नेपालबाट साभार गरिएको हो । यो समाचार अनलाइन रेडियो नेपालमा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *